आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव

भाइटीकाको दिन परेको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहान र बेलुका चिसो बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार काठमाडौं उपत्यकामा भने चिसो केही कम भएको छ।

केही दिन मौसम सामान्यतया सफा रहने भए पनि आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने र त्यसका कारण देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन।

तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने उनले बताइन्।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने अनुमान छ।

त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिइन्।

वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पनि पर्न सक्ने भएकाले किसानलाई विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

अहिले खेतमा काट्न बाँकी रहेको धानबाली र काटेर सुकाउन राखिएको धान तथा परालमा वर्षा र असिनाले क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षित राख्नुपर्ने पोखरेलले बताइन्।

‘आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्छ,’ पोखरेलले भनिन्, ‘धानबाली काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउन र काटिसकेको धान तथा पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ।’

पोखरेलका अनुसार अहिले देखिएको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको छैन। त्यसैले भारी वर्षाको सम्भावना नरहे पनि पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्छ।

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदमा पनि वर्षा र हिमपात हुने गर्छ। यस्तो वर्षाले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले लाभदायकसमेत हुन सक्ने मौसमविद्को भनाइ छ।

उनका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सामान्यतया छिटो एक ठाउँबाट अर्को ठाउँमा सर्ने प्रकृतिको हुन्छ। त्यसैले यसले कुनै स्थानमा केही समय वर्षा गराएर प्रभाव पार्ने गर्छ। असिना पनि सबै क्षेत्रमा नभई निश्चित स्थानमा मात्रै पर्ने सम्भावना हुन्छ।

यस वर्ष मनसुनका बेला एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको पोखरेलले बताइन्। तर मनसुन र हिउँदमा एल निनोको प्रभाव फरक हुने भएकाले मनसुनमा कम वर्षा भयो भन्दैमा हिउँदमा पनि सुक्खा हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।

‘हिउँदमा एल निनोको प्रभाव मनसुनको तुलनामा फरक हुने भएकाले यसले वर्षालाई अनिवार्य रूपमा घटाउँछ भन्ने हुँदैन। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदे वर्षा र हिमपात हुन सक्छ,’ उनले भनिन्।

समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहन्छ भन्नेबारे भने मौसम पूर्वानुमान महाशाखाले छुट्टै मौसमी आकलन सार्वजनिक गर्नेछ।

मौसमविद् पोखरेलले महाशाखाले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्सा नियमित हेर्न पनि आग्रह गरेकी छन्। विशेषगरी नक्सामा पहेँलो संकेत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

खबर सबै