

दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र



दाङको धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहको प्रवर्धन योजना अलपत्र परेको छ । पाँच वर्षअघि गुरुयोजना तयार गरी बाह्रकुने दहलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य अनुसार कान्छा वराहथान मन्दिर, जलाशय, पार्क, प्रवेशद्वार, काउन्टर घरलगायतका पूर्वाधार निर्माण थालिएको थियो तर अहिलेको स्थानमा रहेको कान्छा वराहस्थानलाई अन्यत्र सार्ने विषयमा स्थानीयबिचको विवादका कारण निर्माणका काम अलपत्र परेका छन् ।
घोराही उपमहानगरपालिका–१३ मा रहेको उक्त क्षेत्रलाई नयाँ मोडेलमा विकास गर्ने गरी २०७८ साल काम सुरु गरिएको थियो । हाल रहेको स्थानबाट कान्छा वराहथान मन्दिर अन्यत्र सार्ने विषयमा विवाद हुँदा चार वर्षदेखि काम अघि बढ्न नसकेको वराहक्षेत्र संरक्षण तथा संवर्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीमगर बताउनुहुन्छ । त्यसका कारण निर्माणाधीन मन्दिर, जलाशय, पार्क, प्रवेशद्वारलगायतका संरचना अलपत्र परेका छन् । गुरुयोजना अनुसार हालको स्थानमा रहेको मन्दिरलाई दक्षिणतर्फ डाँडामा सार्ने र अहिले रहेको बाह्रकुने दह विस्तार गरी जलाशय निर्माण गर्ने योजना थियो । मूल मन्दिर सार्ने विषयमा भने स्थानीयबिच मतभेद भएपछि सम्पूर्ण काम रोकिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार अन्य पूर्वाधार निर्माणमा विवाद नरहे पनि काम हुन नसकेको बताउनुभयो ।
बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणका लागि २०७८ जेठ ३१ गते नागार्जुन शिव निर्मल जेभीसँग छ करोड छ लाख ५२ हजार ५४९ रुपियाँ ९२ पैसामा ठेक्का सम्झौता भई काम थालिएको थियो । २०८० जेठ ३१ भित्र काम सक्नुपर्ने गरी सुरु भएको उक्त योजनामा कम्पाउन्डसहितको मन्दिर, टिकट घर, गार्ड घर, जलाशय, पार्क र फुटपाथ निर्माण गर्ने कार्य समावेश छन् । हालसम्म काउन्टर घर र सुरक्षा गार्ड बस्ने घरसँगै प्रवेशद्वार आधा निर्माणको काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र वली बताउनुहुन्छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण अन्तर्गत काम सुरु भए पनि मुख्य काम मन्दिर सार्ने र जलाशय निर्माणका विषयमा विवाद हुँदा काम गर्न नसकिएको बताउनुहुन्छ । स्थानीयका बिचमा सहमति हुने र काम गर्ने वातावरण बने बाँकी निर्माणका कामलाई अघि बढाउन तयार रहेको उहाँको भनाइ छ ।









प्रतिक्रिया