कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद

कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गरेको जाँच तथा गस्तीका क्रममा चार लाख ३४ हजार दुई सय रुपैयाँ बराबरका बिलबिजकविहीन तथा अवैध सामान बरामद गरेको छ। आइतबार बिहान शिवराज नगरपालिकाबाट तयारी कपडा र यशोधरा गाउँपालिकाबाट चिनी, पटका तथा खेलौना बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका–१ शिवपुरीस्थित कोलनी चोकमा बिहान करिब ५ः४५ बजे काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको यात्रुवाहक बस जाँच गर्दा तीन लाख ३१ हजार दुई सय रुपैयाँ बराबरका तयारी कपडा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक आदर्श गिरीको नेतृत्वमा खटिएको सात सदस्यीय प्रहरी टोलीले बस जाँच गर्ने क्रममा बिलबिजक नभएका १६८ थान रेडिमेड हुडी र ९९ थान ट्राउजर बरामद गरेको थियो। बरामद कपडामध्ये हुडीको मूल्य दुई लाख ५२ हजार रुपैयाँ र ट्राउजरको मूल्य ७९ हजार दुई सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सोही बसमा ल्याइँदै गरेको आवश्यक कागजात नभएको लु ५४ प २५५९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, यशोधरा गाउँपालिका–५ ननवास्थित खेतको कच्ची बाटोमा भारत हुँदै नेपाल भित्र्याएर लुकाइछिपाइ बेवारिसे अवस्थामा राखिएका चिनी, पटका र खेलौना बरामद गरिएको छ। उक्त सामानको मूल्य एक लाख तीन हजार रुपैयाँ रहेको छ।

प्रहरीचौकी म्यादपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर देउवाको नेतृत्वमा खटिएको गस्ती टोलीले बिहान करिब ७ बजे ती सामान फेला पारेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

यसैबीच, कपिलवस्तु प्रहरीले दसैँ सुरु भएयता पछिल्लो १० दिनमा ९० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाउँदै लत्ताकपडालगायतका सामान र सवारीसाधन नियन्त्रणमा लिएका हुन्।

प्रतिक्रिया

खबर सबै