कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने


कपिलवस्तु | किशोरीहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचाउन कपिलवस्तु जिल्लामा यसपटक ७ हजार बढीलाई एचपिभी खोप लगाउने तयारी गरिएको छ । ७ हजार ५ सय किशोरीलाई लक्षित गरी एचपिभी -ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको हो ।

अभियानअन्तर्गत भदौ र आसोज महिनालाई एचपीभी खोप अभियान सुरु गरिने स्वास्थ्य कार्यालय, कपिलवस्तुका बरिष्ठ तथ्यांक अधिकृत तथा निमित्त कार्यालय प्रमुख अनिरुद्र श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइने श्रीवास्तवको भनाइ छ ।

कपिलवस्तुमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल पनि भएको उनले बताए । कपिलवस्तुमा स्थानीय तहहरुले पठाएको उक्त उमेरका किशोरीहरुको अभिलेख अनुसार कार्यालयले सोही संख्यामा खोप पालिकालाई पठाउने तयारी गरेको छ । सम्बन्धित स्थानीय तहबाट उक्त खोप स्वास्थ्य संस्थाहरुमा पठाइने छ भने स्वास्थ्यकर्मीहरुले विद्यालय र समुदायमा पुगेर किशोरीहरुलाई एचपीभी खोप लगाउने छन् ।

कपिलवस्तुमा दश स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने गरिन्छ । एचपिभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् ।

किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने चिकित्सकहरुको भनाई छ । क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ ।

प्रतिक्रिया

खबर सबै