

पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान



कुनै समय खोलानाला र नदीमा पुल नहुँदा वर्षायाममा आवतजावत ठप्प हुने कपिलवस्तुको विजयनगर गाउँपालिका अहिले धमाधम निर्माण भइरहेका पुलका कारण नयाँ पहिचान बनाउँदैछ । संघीयता कार्यान्वयनपछि गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक तथा पुल पूर्वाधार विस्तारले तीव्रता पाएसँगै दुर्गम मानिएको विजयनगर क्रमशः सहज आवागमनको क्षेत्रमा रूपान्तरण हुँदै गएको हो ।
गाउँपालिकामा हालसम्म तीन वटा पक्की पुल र सात वटा झोलुंगे पुल गरी १० वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । थप पाँच वटा मोटरेबल पुल निर्माण तथा ठेक्का प्रक्रियाका विभिन्न चरणमा छन् । यी संरचना सम्पन्न भएपछि गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालसँग थप सहज रूपमा जोडिने अपेक्षा गरिएको छ ।
पुल निर्माण भएपछि वर्षायाममा खोलानाला बढ्दा बस्ती र सडक सम्पर्क विच्छेद हुने समस्या निकै कम भएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पुलले स्थानीयको दैनिक आवतजावत मात्र नभई शिक्षा, स्वास्थ्य, व्यापार र कृषि क्षेत्रमा समेत प्रत्यक्ष लाभ पुर्याएको छ ।
संघीय सरकारको योजनाअन्तर्गत लोनिया–कटानिया जोड्ने विशवा खोला पुल र परसोहिया–पत्थरदेइया जोड्ने पक्की पुल निर्माणाधीन छन् । त्यस्तै, छुटपाटी–भागीरामपुर जोड्ने चिराई खोला पुल तथा नौरंगिया–असनारा जोड्ने चिराई खोला पुल ठेक्का प्रक्रियामा रहेका छन् ।
लुम्बिनी प्रदेश सरकारको बजेटबाट पनि गाउँपालिकाका विभिन्न क्षेत्रमा पुल निर्माणलाई प्राथमिकता दिइएको छ । नेवलागन्ज हुँदै जवाभैराठ पुग्ने विशवा खोला पुल र इमलीखर्क–भटनी खोला पुल निर्माण सम्पन्न भइसकेका छन् । अमलवा–मानपुर जोड्ने पुल तथा गुगौली–जवाभैराठ जोड्ने चिराई खोला पुल भने निर्माणाधीन अवस्थामा छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माका अनुसार सडक पूर्वाधारसँगै पुल निर्माणलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाइएको छ । पुल निर्माणले गाउँपालिकाका बस्तीलाई बाह्रै महिना सडक सम्पर्कमा राख्न महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ छ ।
विजयनगरमा पैदल आवतजावत सहज बनाउन झोलुंगे पुल निर्माणले पनि उल्लेखनीय भूमिका खेलेको छ । चिराई खोला क्षेत्रमा भागीरामपुर, नौरंगिया, लोहरौला डाँडागाउँ र गुगौलीघाट लगायतका स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । छुटपाटी–थरौली जोड्ने झोलुंगे पुल भने निर्माणाधीन छ ।
त्यस्तै, विशवा खोला क्षेत्रमा नौडीहवा–गोबरहवा र नेवलागन्ज–मधनगरा जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भइसकेका छन् ।
पुल बनेपछि स्थानीयलाई विद्यालय, स्वास्थ्य संस्था, बजार तथा प्रशासनिक केन्द्रसम्म पुग्न सहज भएको छ । विशेषगरी वर्षायाममा खोलाको बहावका कारण हुने जोखिम घट्नुका साथै कृषि उपज बजारसम्म पुर्याउन पनि सहज भएको स्थानीयको अनुभव छ ।
स्थानीयका अनुसार पहिले खोला तर्नुपर्ने बाध्यता र वर्षायाममा हुने सडक सम्पर्क विच्छेदले दैनिक जीवन प्रभावित हुने गरेको थियो । अहिले पुल निर्माणसँगै त्यस्ता समस्या क्रमशः घट्दै गएका छन् ।
विकासको दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिएको विजयनगरमा पछिल्ला वर्षहरूमा सडक, पुल तथा अन्य पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयमा विकासप्रतिको आशा पनि बढेको छ । निर्माणाधीन तथा प्रक्रियामा रहेका पुलसमेत सम्पन्न भए गाउँपालिकाका अधिकांश बस्ती सहज सडक सम्पर्कमा जोडिनेछन् ।
पुलसँगै बढेको आवागमन, व्यापार र सेवाको पहुँचले विजयनगरको पुरानो ‘दुर्गम’ परिचय बदलिँदै गएको छ । भौतिक पूर्वाधारको विस्तारले गाउँपालिकालाई विकासको नयाँ यात्रातर्फ अघि बढाएको स्थानीयको विश्वास छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया