

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म उक्त रकम संकलन भएको जानकारी दिएको छ।
विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन्।
बुधबार भोटेकोशी नदीमा भीषण बाढी आएको थियो। बाढीले ठूलो जनधनको क्षति गरेको थियो। त्यसपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
त्यससँगै कोषमा सहयोग रकम जम्मा हुन थालेको हो। सरकारले कोषमा रकम संकलन र समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। मन्त्रालयलाई फोकल मन्त्रालय तोकिएको छ।
संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्।
व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै आएर दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ सहयोगसँगै कोषमा चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो।
बिहीबार मात्रै ६ घन्टामा निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग समावेश नभएको अर्थमन्त्रालयले जानकारी गराएको छ। ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया