‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’

जितपुर । बजारमा प्लास्टिक र कागजका प्लेट–कटोरीको प्रयोग बढिरहेको छ। तर बुटवल उपमहानगरपालिका–११ मजुवाकी ५० वर्षीया भवानी परियारका लागि जंगलमा खेर जाने सालका पात नै परिवारको दैनिकी धान्ने आधार बनेका छन्।

बिहानको झिसमिसेदेखि साँझसम्म भवानीको दिन सालको पातसँगै बित्छ। जंगलमा खेर गएका सालका पात टिप्ने, घरमा ल्याएर सफा गर्ने, सुकाउने अनि ती पातबाट टपरी र दुना गाँस्ने उनको दैनिकी बनेको छ। यही कामबाट प्राप्त आम्दानीले उनले छ जनाको परिवारको खर्च धान्दै आएकी छन्।

भवानीले यो काम थालेको आठ वर्ष बितिसकेको छ। सुरुमा बाध्यताले समातेको यो पेशा अहिले उनको जीवनको अभिन्न हिस्सा बनेको छ। आर्थिक अभाव, बजारको अनिश्चितता र शारीरिक थकानका बीच पनि उनले सालका पातसँगको आफ्नो सम्बन्ध तोडेकी छैनन्।

‘जंगलमा खेर जाने पात टिपेर टपरी गाँस्छु, यही बेचेर घर चलाउँदै आएकी छु, भवानी भन्छिन्।’ सालका पात संकलन गर्नु सहज काम भने होइन । जंगलसम्म पुग्नुपर्ने, घण्टौँ हिँडेर पात टिप्नुपर्ने र बोकेर घर ल्याउनुपर्ने हुन्छ । त्यसपछि पातलाई आकार मिलाएर टपरी गाँस्नुपर्छ। एउटै टपरी बनाउन लाग्ने समय र मेहनतको तुलनामा त्यसबाट प्राप्त हुने रकम भने निकै कम हुन्छ।

तर भवानीका लागि यो केवल आम्दानीको माध्यम मात्र होइन, आत्मनिर्भर भएर परिवार सम्हाल्ने बाटो पनि हो। उमेरले ५० वर्ष पुगे पनि उनी हरेक दिन मेहनत गर्न पछि हटेकी छैनन्।

बुटवल उपमहानगरपालिका स्थित हाटबजार लाइन क्षेत्रमा सडक पेटिमा सालका पात र त्यसबाट बनेका टपरी र बोहोता बिक्रि गर्नु भवानीको दैनिकी हो । शहरमा बस्ने मानिसहरुकालागि धार्मिक तथा अनुष्ठानका कार्यमा सालका पातको आवश्यकता हुनेहरु यहि आउँछन र भवानीसँग सालका पात र टपरी किन्ने गर्दछन् ।

तर भवानीलाई यहाँ सालका पात बिक्रि गर्न सजिलो भने छैन । नगर प्रहरीको आँखा छलेर सडक पेटिमा व्यपार गर्नुपर्ने बाध्यता छ । नगरप्रहरीले भवानी परियार जस्ता व्यपारीहरुलाई बजारको स्थान दिदैन । वुटवल उपमहानगर पालिकाले सडक पेटीमा सामान्य व्यापार पनि गर्न नदिदा उनी जस्ता व्यापारीलाई सास्ती भने ठूलो छ ।

बजारमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत टपरीको मागमा उतारचढाव आउने गरेको उनी बताउँछिन्। विशेषगरी विवाह, भोज, धार्मिक तथा सांस्कृतिक कार्यक्रमका समयमा टपरीको माग बढ्ने गरे पनि नियमित बजार नहुँदा आम्दानी स्थिर रहँदैन।

त्यसका बाबजुद भवानीले आफ्नो सीपलाई निरन्तरता दिएकी छन्। जंगलमा खेर जाने पातलाई उपयोग गरेर घरको चुलो बाल्ने उनको मेहनतले वातावरण संरक्षणको सन्देश पनि दिएको छ।

सालको पातबाट बनेका टपरी प्राकृतिक रूपमा कुहिने भएकाले प्लास्टिकका प्लेट तथा अन्य सामग्रीको विकल्प बन्न सक्छन्। स्थानीयस्तरमै उपलब्ध स्रोत र परम्परागत सीप प्रयोग गरेर आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण पनि भवानीको संघर्षले देखाएको छ।

तर यस्ता श्रमजीवी महिलाका लागि बजारको पहुँच, उचित मूल्य र सीप प्रवद्र्धनको व्यवस्था अझै कमजोर छ। स्थानीय तह वा सम्बन्धित निकायले टपरी बनाउने महिलालाई आवश्यक तालिम, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके उनीहरूको आम्दानी बढाउन सकिने भवानीको अपेक्षा छ।

भवानीको जीवनमा सालको पात केवल जंगलमा खेर जाने वस्तु होइन। ती पात उनका लागि परिवारको खाना, छोराछोरीको आवश्यकता र घरखर्च जुटाउने माध्यम बनेका छन्।

प्रतिक्रिया

खबर सबै