जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण


साझाकुरा, कपिलवस्तु | वाणगंगा नगरपालिका–९ जिनुवास्थित जास्मिन बड्स (जे.बी.एस) स्कुलमा स्काउट अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय वाणगंगा नगरपालिकाको समन्वयमा विद्यालयमा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।

मानवताको भविष्यका लागि विद्यार्थीलाई साहसपूर्वक कार्य गर्न प्रेरित गर्ने मूल भावसहित सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीलाई स्काउटका आधारभूत गतिविधि, अनुशासन, सामाजिक जिम्मेवारी, नैतिक आचरण तथा नेतृत्व विकासका विषयमा अभिमुखीकरण गरिएको थियो।

विद्यार्थीमा नैतिक बल, नैतिक व्यवहार र व्यक्तिगत मूल्य–मान्यताको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयका उप प्रमुख प्रेम पाण्डेले जानकारी दिएका छन् । स्काउटमार्फत विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी अनुशासन, सहकार्य, सेवाभाव, आत्मनिर्भरता र जिम्मेवारीबोधजस्ता व्यवहारिक पक्षमा सक्षम बनाउने लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरू स्काउट पोशाकसहित उत्साहजनक सहभागिता जनाएका थिए। कार्यक्रममा स्काउट मास्टर सुरज भट्टराई र अमृत बीकेको प्रस्तुति तथा सहजीकरण रहेको थियो। उनीहरूले विद्यार्थी जीवनमा स्काउटको भूमिका, अनुशासन र सामाजिक सेवाको महत्वबारे जानकारी गराएका थिए।

स्काउट गतिविधिले विद्यार्थीलाई नेतृत्व गर्न सिकाउनुका साथै विपद् तथा कठिन परिस्थितिमा सहयोग गर्ने भावना, समूहमा काम गर्ने क्षमता र समुदायप्रतिको उत्तरदायित्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालय तहबाटै यसको अभ्यास आवश्यक रहेकोमा जोड दिइएको छ ।

जास्मिन बड्स स्कुलमा आयोजित स्काउट अभिमुखीकरणले विद्यार्थीलाई असल विद्यार्थी मात्र नभई अनुशासित, जिम्मेवार, साहसी र सेवाभावी नागरिक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

खबर सबै