

‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय


भारतीय सञ्चारमाध्यमले नेपालको सीमावर्ती क्षेत्रमा अवैध रूपमा अण्डाणु (एग) दान गराउन नेपाली युवतीहरूलाई भारत लैजाने गरेको तथ्य सार्वजनिक गरेको छ ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार, सामाजिक सञ्जालमार्फत आर्थिक प्रलोभन देखाउँदै युवतीहरूलाई सीमा पार गराउने र भारतमा अण्डाणु संकलन गराउने गिरोह सक्रिय छ ।
नेपालका कैलाली र कञ्चनपुर जिल्लामा गरेको स्थलगत अनुसन्धानले यस्तो गतिविधि बढ्दो क्रममा भएको पाइएको छ ।
समाचारमा उल्लेख भएअनुसार गिरोहले विशेषगरी आर्थिक रूपमा कमजोर र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने थारू समुदायका युवतीहरूलाई लक्षित गरिरहेको छ ।
तस्करहरूले युवतीहरूलाई प्रत्येक डिम्ब दानवापत ३० हजार भारतीय रुपैयाँ (करिब ४८ हजार नेपाली रुपैयाँ)सम्म दिने प्रस्ताव गर्ने गरेको पाइएको छ । तस्करहरूले महिनामा ३० हजारदेखि ६० हजार भारतीय रुपैयाँसम्म कमाइ हुने लोभ देखाउँदै भारत लैजाने गरेको अनुसन्धानमा उल्लेख छ ।
डिम्ब दानबाट प्राप्त हुने अण्डाको प्रयोग सन्तान नभएका महिलाहरूको गर्भाधान प्रक्रियामा गरिन्छ । यसलाई अवैध रूपमा सञ्चालन गर्ने गिरोहले आवश्यक दम्पत्तीहरूबाट चारदेखि पाँच लाख रुपैयाँसम्म रकम असुल्ने गरेको पाइएको छ ।
भास्करको टोलीले नेपालमा तीन दिनसम्म गरेको अनुसन्धानका क्रममा स्थानीय गैरसरकारी संस्थाको सहयोगमा डिम्ब दानका लागि दिल्ली बोलाइएकी कञ्चनपुरकी थारू समुदायकी एक युवती (परिवर्तित नाम रमा)लाई भेटेको जनाएको छ ।
टोलीले रमासहित उनका परिवारका सदस्यहरूसँग कुराकानी गर्दा आर्थिक कमजोरीलाई आधार बनाएर तस्करहरूले युवतीहरूलाई निशाना बनाउने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा तस्करहरूले भारतमा बस्दै आएका नेपाली महिलाहरूको सहयोग लिने गरेको पनि पाइएको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत पहिले युवतीहरूसँग सम्पर्क बढाउने, विश्वास जित्ने र त्यसपछि भारत बोलाउने गरेको देखिएको छ ।
रमासँग पनि दिल्लीमा बस्दै आएकी नेपालकै एक महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क बढाएकी थिइन् । ती महिलाले आफ्नो विलासी जीवनशैली देखाउने तस्बिर तथा भिडियोहरू पठाउँदै रमालाई प्रभावित पार्ने प्रयास गरेकी थिइन् ।
उनले एग डोनेसनलाई सामान्य प्रक्रिया जस्तै देखाउँदै रक्तदान जस्तै भएको भन्दै सम्झाउने प्रयास गरेकी थिइन् । रमालाई सीमा पार गर्न मात्र भनिएको र त्यसपछि गौरीफन्टादेखि दिल्लीसम्म पुग्ने सबै व्यवस्था मिलाइने बताइएको थियो ।
विश्वास जित्न सामाजिक सञ्जालमार्फत नेपालकै अन्य दुई युवतीसँग पनि कुरा गराइएको थियो, जो डिम्ब दानकै लागि दिल्ली जाने तयारीमा रहेको बताइएको छ ।
भास्करको टोली रमाको घर पुग्दा उनको परिवार गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेको पाइएको छ । उनका बुबा दैनिक ज्यालादारी मजदुरी गर्ने गरेको उल्लेख गरिएको छ ।
रमा दिल्ली जाने क्रममा भारत–नेपालको गौरीफन्टा नाकामा सुरक्षा निकायको नजरमा परेकी थिइन् । त्यसपछि यो विषय बाहिर आएको हो ।
नेपाल–भारत सीमा खुला भएका कारण मानव बेचबिखनका यस्ता घटनाको ठोस आधिकारिक तथ्यांक पाउन कठिन छ । तर, सीमा क्षेत्रमा सक्रिय सुरक्षा निकाय र गैरसरकारी संस्थाहरूले शंकास्पद गतिविधिमाथि निगरानी गर्दै आएका छन् ।
शंकास्पद अवस्थामा रोकिएका महिला तथा बालबालिकालाई परामर्श दिएर परिवारमा फर्काउने गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको सन् २०२६ को रिपोर्टअनुसार प्रत्येक वर्ष औसतमा सात हजार ४०० जनालाई मानव बेचबिखनको आशंकामा सीमामा रोक्ने गरिएको छ । तीमध्ये ५२ प्रतिशत महिला र ४२ प्रतिशत नाबालिका रहेको उल्लेख छ ।
भारत जाने क्रममा प्रयोग हुने मुख्य मार्गमध्ये दुधवा नेसनल पार्क आसपासको सीमावर्ती क्षेत्रलाई मानव बेचबिखनको जोखिमयुक्त क्षेत्रका रूपमा हेरिएको छ । तस्करहरूले गौरीफन्टा नाका हुँदै भारत प्रवेश गराउने गरेको पाइएको छ ।
पटनाबाट गोरखपुर, मैलानी, पलिया हुँदै दुधवा नेशनल पार्कको करिब ३० किलोमिटर क्षेत्र पार गरेर गौरीफन्टा पुग्ने मार्ग तस्करहरूले प्रयोग गर्ने गरेको अनुसन्धानमा उल्लेख छ ।
उक्त क्षेत्रका केही भागमा मोबाइल नेटवर्कसमेत कमजोर हुने भएकाले तस्करहरूलाई गतिविधि सञ्चालन गर्न सहज हुने गरेको बताइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, कैलालीका सहसचिव प्रकाशदत्त भट्टले अवैध एग डोनेसनको उद्देश्यले नेपालबाट महिलाहरूको तस्करी हुनु नयाँ प्रवृत्तिका रूपमा देखिएको बताएका छन् ।
भट्टले भने, “दुर्गम र गरिब क्षेत्रहरूमा चेतनाको अभाव छ । तस्करहरूले निकै चलाखीपूर्ण तरिकाले महिला र बालबालिकाहरूलाई आफ्नो शिकार बनाइरहेका छन् ।”


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया