पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन

कपिलवस्तु | कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारका क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छन्।

परिवारका अनुसार गुप्ता केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए। अचानक हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको हो। उनको पार्थिव शरीर मंगलबार कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी गरिएको छ।

गुप्तालाई कपिलवस्तुको राजनीतिमा निरन्तर संघर्ष गर्ने नेताका रूपमा चिनिन्थ्यो। उनले पञ्चायतकालदेखि नै सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए। २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि उम्मेदवार बनेर औपचारिक चुनावी राजनीतिमा प्रवेश गरेका गुप्ताले त्यसयता पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरे।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा उनले दशकौँसम्म चुनाव लडे पनि सफलता भने निकै ढिलो प्राप्त गरे। २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका गुप्ता अन्ततः २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक संघीय संसदमा निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा एमालेका उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई ३ हजार ६३७ मतान्तरले पराजित गरेका थिए। सातौँ प्रयासमा प्राप्त त्यो जितलाई उनका समर्थकहरूले “संघर्षको विजय” का रूपमा व्याख्या गरेका थिए।

गुप्ता लामो समय स्वतन्त्र राजनीतिक धारमा सक्रिय रहे पनि पछिल्ला वर्षहरूमा एमालेमा प्रवेश गरेका थिए। एमालेले उनलाई विशेष महत्वका साथ पार्टीमा भित्र्याएको थियो। त्यसपछि उनी कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेको प्रमुख राजनीतिक अनुहार बने।

उनको राजनीतिक जीवन केवल निर्वाचनमा सीमित थिएन। मधेश र पहाडी समुदायबीचको सामाजिक सद्भाव, कृषकका समस्या, सीमावर्ती क्षेत्रको विकास र सडक पूर्वाधार विस्तारका मुद्दामा उनी निरन्तर आवाज उठाउने नेताका रूपमा परिचित थिए।

गुप्ताको निधनसँगै कपिलवस्तुले एक अनुभवी राजनीतिक अभिभावक गुमाएको स्थानीय राजनीतिक वृत्तले जनाएको छ। एमालेका नेता तथा कार्यकर्ताले उनको निधनलाई पार्टी र जिल्लाका लागि ठूलो क्षति बताएका छन्।

स्वर्गीय गुप्ताका श्रीमती, चार छोरा तथा अन्य आफन्त छन्। उनको निधनपछि कृष्णनगर, बिजयनगर, महाराजगञ्ज लगायत कपिलवस्तुका विभिन्न क्षेत्रमा शोकको वातावरण छ। एमालेले श्रद्धाञ्जली सभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

खबर सबै