रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?


कपिलवस्तु, तौलिहवा | राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन शनिबार तौलिहवामा सुरु भएको छ। नयाँ जिल्ला नेतृत्व चयन गर्ने उद्देश्यसहित सुरु भएको अधिवेशनमा विभिन्न पदका लागि आकांक्षीहरूको उल्लेख्य उम्मेदवारी परेपछि नेतृत्व चयन सर्वसम्मत हुन नसकेको बताइएको छ । यद्यपी सहमतिको प्रयास भने जारी रहेको उल्लेख छ ।
दिनभर सञ्चालन भएको अधिवेशनमा पार्टीका सदस्यहरूबाट जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव तथा खुला सदस्य पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो। विभिन्न पदमा एकभन्दा बढी आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासलाई जारी राखिएको जनाइएको छ ।
निर्वाचन मण्डलका संयोजक नारायण खनालका अनुसार शनिबार दिनभर सहमतिको प्रयास गरिए पनि सबै पदमा सहमति कायम हुन नसकेकाले आइतबार बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी तयारी र छलफल गरिएको छ।
अधिवेशनमा जिल्ला सभापति पदका लागि बाणगंगा–४ का शिवकुमार सुवेदी र बाणगंगा ४ कै बिक्रम थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै जिल्ला उपसभापति पदमा बुद्धभूमि–१ का बिरेन्द्रप्रसाद मिश्र, कुद्धभूमि–२ का अनुप मरासिनी, बाणगंगा–११ का चिरञ्जिबी आचार्य, विजयनगर–३ का रामनिवास पुरी र कपिलवस्तु ३ का मोहान शर्मा आकांक्षी देखिएका छन्।

यस्तै सचिव पदका लागि गुरुदेव पौडेल, सुशील खत्री, यमलाल आचार्य र लोक बहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् भने सहसचिव पदमा कृति मल्ल, जिवलाल पौडेल, मो. हई मुसलमान र देबेन्द्रकुमार शर्माले मनोनयन दर्ता गराए ।
खुला सदस्यतर्फ पनि विभिन्न पालिकाका गरी ठूलो संख्यामा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशनमा बाणगंगा, बुद्धभूमि, कपिलवस्तु, शिवराज, कृष्णनगर, विजयनगर, महाराजगञ्ज, मायादेवी, यशोधरा लगायतका स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी उम्मेदवारी परेको बताइएको छ ।
अधिवेशनस्थलमा दिनभर नेतृत्व चयनका विषयमा छलफल, परामर्श र सहमतिको प्रयास भए पनि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था सिर्जना भएको सहभागीहरूले बताएका छन्। रास्वपाले जिल्लामा संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन सक्षम नेतृत्व चयन गर्ने उद्देश्यले अधिवेशन आयोजना गरेको जनाएको छ।
पार्टी स्थापना पश्चात् कपिलवस्तुमा पहिलो पटक जिल्ला अधिवेशन आयोजना भएकाले कार्यकर्ताहरूमा विशेष उत्साह देखिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार, पार्टीको भावी रणनीति तथा स्थानीय राजनीतिक गतिविधिबारे समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन मण्डलका संयोजक नारायण खनालका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, मतदाता सूची प्रमाणीकरण तथा निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ। आइतबार बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु गरी सोही दिन नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
रास्वपा कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी निर्वाचन केन्द्रित गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरिएको जनाइएको छ।

प्रतिक्रिया

खबर सबै