सरेपानी सामुदायिक वन : नेतृत्व जोगाउन ‘साधारणसभा’ र ‘अधिवेशन’ गर्न आलटाल !

साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित सरेपानी सामुदायिक वन उपभोक्ता समुहमा कार्यसमितिको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षको वार्षिक साधारण सभा तथा नियमित अधिवेशन प्रभावित बनेको छ । जसका कारण सरेपानी सामुदायिक वनको यो वर्षको गतिविधिमा पनि असर पुगेको छ । वन कार्यसमितिले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारण सभा समेत गर्न ढिलाइ गरेको छ भने वन कार्यसमितिको अधिवेशन समेत नहुदा ९ महिना अघि नै कार्यसमितिको म्याद गुज्रिएको छ ।

गत वर्ष वन उपभोक्ता समुहका सदस्यहरुले वनमा अनियमितता भएको भन्दै कार्यालयमा तालाबन्दी समेत गरेका थिए । उपभोक्ता र कार्यसमितिका बिचमा भएको पाँच बुदे सहमति पश्चात उक्त ताला खोलिएको थियो । तर हाल वन कार्यसमितिले नियमित वार्षिक साधारणसभा र अधिवेशन समेत गर्न आलटाल गरिरहेको बुझिएको छ ।

२०८१ फागुन ५ गते भएको एक भेलाले वन कार्यसमिति अन्र्तगतका विभिन्न उपसमिति खारेज गर्ने निर्णय गरेको थियो भने सोही भेलाले एक सल्लाहाकार समिति गठन गरि सोही समितिको उपस्थितिमा भदौ मसान्त भित्र वार्षिक साधारणसभा गराउने र वनको नयाँ नेतृत्व चयनका लागि अधिवेशन पनि गर्ने भनिएको थियो । तर कार्यसमितिको अवधि सकिएको ९ महिना बित्नै लाग्दा समेत वनको अधिवेशन कहिले हुन्छ भन्ने टुङ्गो नभएको एक सदस्यले बताएका छन् । चालु आर्थिक वर्षको वार्षिक अडिट समेत हाल सम्म भएको छैन । यस वर्षका वनका आर्थिक आम्दानीका गतिविधि ठप्प प्राय छन् । सरेपानी सामुदायिक वनले गत वर्षको लिलाम बिक्रि हुन बाँकी काठ यस वर्ष बिक्रि बाट मात्रै आम्दानी गरेको छ । तर यस वर्षका लागि काठको कटान–मुछान जस्ता कुनै पनि गतिविधि हुन सकेका छैनन् ।

सरेपानी सामुदायिक वनका अध्यक्ष बिन्द्र बहादुर गुरुङले आफ्नो हातबाट अब नेतृत्व गुम्ने भयले साधारणसभा तथा अधिवेशनमा आलटाल गरिरहेको कतिपय उपभोक्ताहरुको आरोप छ । चालु आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहदा पनि साधारण सभा नहुनु र समितिको म्याद सकिएको ९ महिना बितिसक्दा पनि अधिवेशन गर्न नखोज्नु आफैमा रहस्यमय छ ।

२०८१ फागुनको भेलाबाट गठित सल्लाहाकार समितिका संयोजक प्रेम घिमिरेका अनुसार वन कार्यसमितिले साधारणसभा नै नगरि यो वर्षका काम गरिरहेको र अधिवेशन पनि गर्ने कुनै सुरसार नरहेको बताए । उनले चैत अन्तिम साता मात्रै अडिटका लागि प्रकृया सुरु भएको भए पनि त्यो काम पनि अझै नसकिएको बताएका छन । समितिका पदाधिकारीहरुले एक हप्ता– एक हप्ता भन्दै समय लम्बाइरहेका उनको भनाइ छ ।

वनमा अनियमितता भएको भन्दै एक वर्ष अघि विरोध तथा तालाबन्दी नै भएपछि वन कार्यसमितिका कुनैपनि पदाधिकारीहरुले बैठक भत्ताका नाममा कुनै रकम नलिने समेत सहमति भएको थियो । तर हाल विभिन्न शिर्षकमा समितिका पदाधिकारीहरुले रकम समेत लिने गरेका उपभोक्ताको आशंका छ ।

उता वनका अध्यक्ष बिन्द्र बहादुर गुरुङले विभिन्न कारणले अडिटको काममा ढिलाइ भएकाले साधारणसभा र अधिवेशन समयमा गर्न नसकिएको बताउँछन् । उनले हाल अडिटरको अस्वस्थताको कारण देखाउँदै ढिलाइ भएको दाबी गरे । हामी काम गरिरहेका छौँ, थोरै ढिला भएको हो । अब एक हप्तामा साधारणसभा र अधिवेशन गर्छाै, अध्यक्ष गरुङले भने ।

उनले भने जस्तै अब एक हप्तामा वनको अधिवेशन र साधारणसभा भइ हाले पनि यस वर्षको वनका योजना कार्यान्वयन गर्न धेरै ढिलाइ हुने छ ।

गत वर्षको भेलाबाट गठित सल्लाहाकार समितिलाई गत भदौ मसान्त भित्रै वार्षिक साधारणसभा र अधिवेशन गराउने भनि जिम्मेवारी दिइएको थियो । सोही समितिका उप संयोजक भिमार्जुन पोख्रेलका अनुसार भदौ मसान्त भित्र साधारण सभा र अधिवेशन गर्ने भनिएकोमा उक्त म्याद पनि कार्यसमितिकै ढिलाइका कारण सकिएको छ । अझै कहिले हुने भन्ने निश्चित छैन ।

गत वर्षको उपभोक्ताको चर्काे बिरोध र तालाबन्दीले पनि वन कार्यसमितिका गतविधिमा सुधार नहुदा पुनः स्थानीयमा आक्रोश बढ्दो पाइएको छ । नेतृत्वको ढिलाइका कारण वनको नियमिति गतिविधिमा असर परिरहेको कतिपयको तर्क छ ।

प्रतिक्रिया

खबर सबै