

लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा रास्वपाको वर्चश्व, २१ सिटमा जित दर्ता




बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा जितेर रास्वपाले आफ्नो वर्चश्व बनाएको छ । यसअघि ११ सिट जितेको नेकपा एमाले १ सिटमा खुम्चिएको छ भने ६ सिट जितेको कांग्रेस दुई र ३ सिट जितेको नेकपा २ सिटमा झरेको छ । ३ सिट जितेको राप्रपा मुख्य प्रतिस्पर्धामै आएन भने १ सिट जितेको जसपासहित मधेसवादी दलहरू पनि कतै प्रतिस्पर्धामा देखिन सकेनन् ।
लामो समयदेखि चुनावी चर्चामा रहेका रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ला, नवलपरासीका हृदयेश त्रिपाठी, कपिलवस्तुका बृजेश गुप्तासमेत यसपटक धेरै पछि परे । रुपन्देही, गुल्मी, दाङ, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, बाँकेजस्ता एमालेका बलिया आधार इलाका मानिएका र ती पार्टीका प्रभावशाली नेताहरूले फराकिलो मतान्तरमा पराजित हुनुपर्यो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली, खिमलाल भट्टराई, दधिराम न्यौपाने, ठाकुर गैरेको क्षेत्रमा रास्वपाले अस्वभाविक मतान्तरमा जित दर्ता गरेको छ । त्यसैगरी उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी २, नारायण आचार्यले पाल्पा १, सूर्य थापाले प्युठानमा थोरै मतले पराजित भएका छन् । विष्ट, आचार्य र थापाले हारेका यी क्षेत्र अहिले निर्वाचन जितेका दलहरूले समेत आफ्नो सुरक्षित क्षेत्रमा गणना गरेका थिएनन् । यसबाहेक रुपन्देही ४, बाँके ३ मा पनि उस्तै रोचक नतिजा आएको छ ।
रास्वपाबाट अधिकांश क्षेत्रमा राजनीतिमा नयाँ अनुहारलाई अगाडि सारिएको थियो । विभिन्न क्षेत्रबाट उनीहरू राजनीतिमा आएका छन् भने केही निर्वाचनकै मुखमा पार्टी प्रवेश गरेर आएका छन् । नवलपरासीको दुवै क्षेत्र, रुपन्देहीको क्षेत्र नं ४, कपिलवस्तुको क्षेत्र नं २ र ३ का उम्मेदवारले मनोनयन दर्ताकै मुखमा पार्टी प्रवेश गरेर उम्मेदवारी पाएका थिए ।
रुपन्देहीका ५ वटै निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा सो पार्टीका महामन्त्री सुनिल लम्सालले ५४८४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिरा खत्रीले ११९८२ मत ल्याएका छन् । २ मा अधिवक्ता सुलभ खरेलले ५६५५० ल्याउँदा एमालेका विष्णु पौडेलले १२६६१ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापाले ५८८१४ मत ल्याउँदा कांग्रेसका सुशील गुरुङले ८४३५, ४ मा कन्हैया बानियाले २८०६६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २०२६२ मत ल्याएका छन् भने ५ मा व्यवसायी तौफिफ खानले ३८८०६ मत ल्याउँदा एमालेका खिमलाल भट्टराईले १३१०० मत ल्याएका छन् । क्षेत्र नं ४ बाहेक अरू क्षेत्रमा निकै फराकिलो मतान्तर रहेको छ । क्षेत्र नं ३ मा ५० हजार र २ मा ४२ हजार मतान्तरले उनीहरू विजयी भएका हुन् ।
गुल्मीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा सागर ढकालले २९६४२ मत ल्याउँदा एमालेका प्रदीप ज्ञवालीले १५१८१ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा गोविन्द पन्थीले १६९६७ मत ल्याउँदा एमालेका गोकर्ण विष्टले १६४०६ मत ल्याएका छन् ।
दाङका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले बाजी मारेको छ। क्षेत्र नम्बर १ मा सो पार्टीका प्रदेश अध्यक्ष रहेका देवराज पाठक, क्षेत्र नम्बर २ मा सहमहामन्त्री विपीन आचार्य र ३ मा कमल सुवेदीले फराकिलो मतान्तरमा जित दर्ता गरेका छन् । पाठकले नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरले पछि पार्दै ४२ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।
आचार्यले ४३ हजार ५ सय ५० मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले महासचिव शंकर पोखरेलले १५ हजार २ सय ८२ मत गर्दा २८ हजार २ सय ७५ मतान्तर रहेको छ । सुवेदीले क्षेत्र नम्बर ३ मा ४४ हजार २४८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई २७ हजार ७९५ को मतान्तरले पराजित गरे ।
पाल्पाको क्षेत्र नम्बर २ मा रास्वपाका माधव बहादुर थापाले फराकिलो मतान्तरले जितेका छन् । उनले २६ हजार ७३६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत पाएका छन् ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा रास्वपाका मोहनलाल आचार्य, क्षेत्र नम्बर २ मा रास्वपाका विक्रम थापाले फराकिलो मतान्तरमा जितेका छन् । आचार्यले ३४१४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बागी आशिष शर्माले १५८६० मत ल्याएका छन् भने क्षेत्र नं २ मा थापाले २७६३५ मत ल्याउँदा कांग्रेसका सुरेन्द्र आचार्यले २१५२७ मत ल्याएका छन् ।
३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी भएका छन्। चौधरीले ३२७९२ मत पाउँदा कांग्रेसका नारायण गौडेलले १५३०१ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन्। उनले २९५५१ मत पाउँदा एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।
नवलपरासी पश्चिममा २ वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाले एकल जित दर्ता गरेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल र क्षेत्र नम्बर २ मा पनि रास्वपाकै नरेन्द्र कुमार गुप्ताले फराकिलो मतान्तरमा कांग्रेसका उम्मेदवारलाई जितेका हुन् । उनीहरू दुवै निर्वाचनकै मुखमा कांग्रेस छाडेर रास्वपामा गएका थिए ।
बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारुले जितेका छन् भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले जितेका छन् । क्षेत्र नं १ मा थारुले ४९६३१ मत पाउँदा एमालेका शालिकराम अधिकारीले १४६४३ मत पाएर दोस्रो भएका छन् भने निवर्तमान सांसद रहेका कांग्रेस नेता संजय गौतम १२७२२ मतका साथ तेस्रो भएका छन् भने क्षेत्र नं २ मा श्रीधर पोखरेलले नेकपाका सुरेश पन्तलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । प्युठानमा रास्वपाका सुशान्त वैदिकले जितेका छन् । वैदिकले २७४६९ मत पाउँदा कांग्रेसका गोविन्द पोखरेलले १८३३८ मत पाएका छन् । अर्घाखाँचीमा रास्वपाकै हरि भुसाल विजयी भएका छन्। उनले ३५०२३ मत पाउँदा एमालेका पिताम्बर भुसालले २२६४९ मत पाएका छन् ।
पूर्वी रुकुमबाट नेकपाका पुष्पकमल दाहाल प्रचण्डले जीत हासिल गरेका छन्। उनले १०२४० मत ल्याउँदा प्रमुख प्रतिस्पर्धी एमालेका लिलामणि गौतमले ३४६२ मत पाएका छन् । रोल्पामा नेकपाकै वर्षमान पुनले फराकिलो मतान्तरमा जितेका छन् । उनले २७४६० मत पाउँदा कांग्रेसका सुदन वलीले १२००८ मत पाएका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप साहले जितेका छन् । उनले २३५३५ मत ल्याउँदा रास्वपाका प्रकाश रजौरियाले १८८९० मत पाएका छन् । कांग्रेसबाट पाल्पाको क्षेत्र नं १ मा सन्दीप रानाले जितेका छन्। उनले १८ हजार ३३६मत पाउँदा नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ८१९ मत पाएका थिए । बाँकेको क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। राईले २४६२८ मत पाउँदा रास्वपाका विवेक श्रेष्ठले १८६८२ मत पाएका छन् ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया