इजरायल-इरान हवाई आक्रमण : दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई भन्यो- अनुमतिबिना यात्रा नगर्नू

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई स्थानीय प्रशासनबाट पूर्वअनुमति लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

इरानसमेत हेर्ने दोहास्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । “इरानका सम्बन्धित अधिकारीहरूको पूर्वअनुमतिबिना यात्रा नगर्नुहोस्,” दूतावासले भनेको छ ।

इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि नेपाली दूतावासले सूचना जारी गरेको हो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि प्रत्याक्रमण सुरु गरेको छ ।

NMB Bank
इरानले इजरायलमा मात्र होइन साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, कतार र कुवेतमा रहेका अमेरिकी सैन्य वेसहरूमा समेत मिसाइल आक्रमण गरेको छ ।

दोहास्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

“इरानी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्नुहोस्,” दोहास्थित नेपाली दूतावासले भनेको छ, “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, उचित सावधानी अपनाउनुहोस् र नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोस् ।”

दूतावासले इरानमा रहेका कुनै नेपालीलाई समस्या परे दूतावासको टेलिफोन नं. +९७४–६६२१४४१९ मा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया

खबर सबै