कर्फ्यूमै आगजनी: गौरका भित्री बस्ती अझै अशान्त

रौतहटको गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी रहँदा पनि भित्री बस्तीहरूमा आगजनी र तनावको अवस्था कायम रहेको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गरे पनि आगजनीका घटना पूर्ण रूपमा रोकिएका छैनन्।

भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी गरिएको छ। हालसम्म प्रदर्शनकारीबाट ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी भएको पुष्टि भएको छ। मुख्य सडक क्षेत्रमा सुरक्षा उपस्थिति कडा पारिएपछि अवस्था सामान्य देखिए पनि भित्री टोलहरूमा भने अझै तनाव कायमै रहेको स्थानीयले बताएका छन्।

तनावको सुरुवात गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीचको विवादबाट भएको हो। मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाइएको विषयमा सुरु भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि वडा नम्बर ४, ५ र ६ मा स्थिति थप उग्र बनेको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही घरमा तोडफोड तथा सवारीसाधनमा आगजनी भएको छ भने केही व्यक्ति सामान्य घाइते भएका छन्।

थप हिंसा फैलिन सक्ने आकलनपछि शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन्। प्रशासनले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा तोकेर कर्फ्यू जारी गरेको जनाएको छ।

सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै अवस्था सामान्य बनाउन प्रयास जारी राखेको छ।

प्रतिक्रिया

खबर सबै