

आज घर-घरमा स्वस्थानी व्रत कथा समापन गरिँदै



माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ ।
पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।
सोही अवधिदेखि स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आज अन्त्य हुँदै छ।
विधिपूर्वक एक महिने व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रत सफल होस् भनी भगवतीलाई अघ्र्य दिने परम्परा छ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ वटा प्रसाद पति, पति नभए छोरा र छोरा पनि नभए मित छोरालाई दिने तथा केही नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बहाउने विधि रहेको छ।
बर्तालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने परम्परा पनि छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछि ध्यान र योग साधनाका लागि उपयुक्त समय भएकाले ‘स्वस्थान’ अर्थात् आत्मासँग सम्पर्क गर्ने अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय यसका लागि उत्तम मानिन्छ।
व्रतकथाअनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीलाई स्वस्थानी देवी भनिन्छ। चार हातमध्ये एकमा नीलकमल, अर्कोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ। यस्ती देवीको व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने र इच्छाएको जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ।
स्वस्थानी कथामा सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानी व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथासमेत वर्णन गरिएको छ।
साँखुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएकी थिइन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथासमेत स्वस्थानीमा उल्लेख छ।
साँखुको शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ। यस व्रतमा करिब १६२ महिला र १५ पुरुष सहभागी छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा पनि मनाउने गर्दछन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया