

कारमा सवार दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ



नेपालगन्ज । भारतीय नम्बर प्लेटको कारमा सवार दुई भारतीय नागरिक ठूलो परिमाणको खैरो हेरोइनसहित बर्दियाको बाँसगढी क्षेत्रबाट पक्राउ परेका छन्।
बाँसगढी नगरपालिका–५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बबई सिँचाइ नहरको दक्षिण किनाराबाट १३१ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित कारमा सवार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको सूचनापछि नियन्त्रण ब्यूरोसहित पुगेको प्रहरी टोलीले युपी ३२ पी टी ७४१० नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो–कालो रंगको कार रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारको पछाडिको सिटमा सवार अंकित कुमारले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी बर्दियाका प्रहरी निरीक्षक प्रशुराम चौधरीले जानकारी दिए।
सूचना अधिकारीसमेत रहेका चौधरीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित बहराइच जिल्लाको मिहीपुरवा थाना निवासी २१ वर्षीय हर्षित यादव (कार चालक) र २२ वर्षीय अंकित कुमार रहेका छन्।
साथै उनीहरूको साथबाट एक थान आइफोन, एक थान भिभो कम्पनीको स्क्रिन टच मोबाइल र सवार कारसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया