नेपाली कम्युनिस्ट पार्टी लुम्बिनीमा कुन जिल्लाबाट को–को भए उम्मेदवार सिफारिस ?

बुटवल । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एउटाबाहेक सबै जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले अर्घाखाँचीबाहेक अन्य जिल्लाबाट आएको सिफारिस केन्द्रीय पार्टी कार्यालयमा पठाइसकेको छ । साविक माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जिल्लाबाट सोझै केन्द्रमा उम्मेदवारको सिफारिस सूची पठाइने र प्रदेशलाई बोधार्थ जानकारी गराउने अभ्यास गरिएको जानकारी दिए ।

कुन जिल्लाबाट को–को भए सिफारिस ?
नेकपाले सिफारिस गरेका अनुहारमा अधिकांश साविक माओवादी केन्द्रका नेता छन् भने केही साविक एकीकृत समाजवादीका छन् ।
कपिलवस्तुको तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरिएको छ । साबिक माओवादी कपिलवस्तु जिल्ला इन्चार्ज रुद्र बन्जाडेका अनुसार क्षेत्र नम्बर १ वटा डोरप्रसाद उपाध्यक्ष, जीतबहादुर चौधरी, रामलोटन तिवारी, कृष्ण कुवरको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट बलराम तिवारी र हजरत अली मुसलमान सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ बाट एस अहमद खाँ, प्रकाश पौडेल, मन्जुर अहमद, अब्दुल अहमद, इनथ अहमद खाँको नाम सिफारिस भएको छ ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रत्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र कुलप्रसाद केसीको नाम सिफारिस भएको छ । २०७९को निर्वाचनमा यहाँ माओवादीबाट वर्षमान पुनले विजयी भएका थिए ।

रुपन्देहीको क्षेत्र नम्बर १ बाट मोहम्मद अली, देवेन्द्र पाण्डेय (सागर), घनश्याम यादव, लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट सुदर्शन बराल, निर्मल जिसी, विश्वदिप पाण्डे, सुदिप न्यौपाने सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट फैज अहमद खाँ, आनन्द प्रसाद गुप्ता, कमला थापा, मधु सुदन ग्राह मगरको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर ४ बाट रियाज अहमद खाँ, बाबुलाल यादव, सन्तकुमार यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ५बाट मोहम्मद बलिक मुसलमान, भोला बस्याल र शारदा घिमिरेको नाम सिफारिस भएको छ ।

बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट महेश्वरजङ्ग गहतराज, नरेन्द्र पाण्डे, अब्दुल हुसेन खान, डोलराज विष्ट, पूजन विश्वकर्मा, अवराज खड्का, नारायण लम्सालको नाम सिफारिस भएको साबिक माओवादी जिल्ला संयोजक नरेन्द्र पाण्डेले रातोपाटीलाई बताए ।

यस्तै, क्षेत्र नम्बर २ बाट अक्कल बम, दीपेन्द्र विष्ट, देवप्रसाद रेग्मी, सन्त धामी, पदम अर्याल, सकिल अहमद, मोहम्मद रियाज राईको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट आइपी खरेल, महेन्द्र शेरबाधमान, दीपक कुमार गौरी मगर, मोहम्मद समिन इस्देसे, कुबेर रिजाल, निरा कार्की, टेकेन्द्र मल्ल, उत्तर कुमार गुप्ता र परमानन्द बर्माको नाम सिफारिस भएको छ ।

पाल्पाको क्षेत्र नम्बर १ बाट होम बहादुर सुनारी, कमलराज भटराई, लिलाकुमारी बगाले सोमै, नारायणी खनाल, मीन प्रसाद गिरी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र बहादुर बिक, तुलसा राना सिफारिस भएका छन् ।

यसैगरी गुल्मीको क्षेत्र नम्बर १ बाट सुदर्शन बराल र क्षेत्र नम्बर २ मा बुद्धि जिसीलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट यदु ज्ञवाली, सिर्जना तरामु, गीता थापा, विष्णु पन्त, जेनजी समूहबाट किसन पाण्डे र रवि कँडेलको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट नेता श्रीराम महत, भूपाल पोख्रेल, खुम बहादुर थापा, राम मल्ल ठकुरी, जेनजी समूहबाट ज्योति थापा मगर, भीमकान्त भण्डारी, प्रदीप भण्डारीको नाम सिफारिस भएको छ ।

बर्दिया क्षेत्र नम्बर १ बाट बामदेव गौतमसहित ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्यमा पूर्वमन्त्री शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष रेशम अधिकारी, सन्त बहादुर थारु, इन्दिरा सुवेदी, बालकृष्ण खनाल छन् । बर्दियाको क्षेत्र नम्बर २ बाट दुर्गाबहादुर थारु, लोकराज जैसी, सुरेश पन्त, चिन्तामणि आचार्य, बम बहादुर रावल र सञ्जय थारुको नाम सिफारिस भएको छ ।

प्युठानबाट सिफारिस हुनेमा लीलामणि पोखरेल, कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती, विद्यार्थी नेता मिलन एसी र प्रेम बहादुर विश्वकर्मा रहेको साबिक माओवादी केन्द्रका प्युठान जिल्ला संयोजक यज्ञबहादुर केसीले रातोपाटीलाई बताए । सिफारिस भएकाहरूमा पोखरेल पूर्वमन्त्री हुन् भने खड्का लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री हुन् । यस्तै मिलन एसी नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् । यस्तै भोजविक्रम बुढा मगर अग्रणी नेता रहेको कार्यकर्ता बताउँछन् ।

यसैगरी रुकुम पूर्वबाट प्रतिनिधि सभाका लागि ९ जनाको नाम सिफारिस गरिएको छ । साबिक नेकपा माओवादी जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुवोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम सिफारिस गरिएको छ ।

यस्तै, दाङको क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी, कुलप्रसाद केसी, सुदन प्रसाद खनाल, अमर कुवर, विनोद कुमार सोनी, दिपा रोका मगर, इन्द्रजीत चौधरी र लुमबहादुर कार्कीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट निर्मल आचार्य, रेखा शर्मा, होमराज शर्मा पोखरेल, कपिराज केसी, खिम बहादुर चौधरी, गिर बहादुर महरा, मिना बुढा चौधरी सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्की, मधुकर रिजाल, पुनम सर्पशाली, नरेश रेग्मी, पुष्प वली, विप्लव वली, नरेन्द्र विक, हरिस गिरी र गोपाल वली सिफारिस भएका छन् ।

नवलपरासी क्षेत्र नम्बर १ बाट केहरसिंह कुवर, रामनन्द यादव, काशीनाथ हरिजन, इन्दिरा बडाल सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट घनश्याम यादव, देवेन्द्र पौडेल, दुलारी हरिजन, ध्रुव नारायण बनियाँ र हरि भण्डारी सिफारिस भएका छन् ।

अर्घाखाँची जिल्लाबाट भने अझैसम्म नाम पठाउन नसकेको बताइएको छ । सन्धिखर्क नगरपालिका पूर्वउपप्रमुख एवं माओवादी नेता ठाकुर विश्वकर्माले नाम पठाउने तयारी भइरहेको रातोपाटीलाई बताए । ‘हामी प्रक्रियामै छौँ,’ उनले भने ।

अर्घाखाँची जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छ । यो जिल्लाबाट टोपबहादुर रायमाझी निर्वाचित हुँदै आएका थिए । उनी अहिले भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् ।

रातोपाटीबाट

प्रतिक्रिया

खबर सबै