खारखानी पिकनिक स्पट : विकास र सुन्दरीकरण पश्चात बढ्यो पर्यटकको आकर्षण

राजेन्द्र खनाल, जितपुुर | तराई मधेशमा जाडो बढेसँगै मानिसहरु सामुहिक वनभोज तथा रमाइला गन्तव्यमा मनोरञ्जनका लागि बढी पुग्ने गर्दछन् । त्यसो त वनभोज जुनसुकै बेला पनि हुन सक्छ तर जाडो मौसमको आगमनसँगै मानिसहरु वनभोज अर्थात पिकनिकमा बढी रुचि राख्छन् ।

केही वर्ष अघि सम्म समान्य सामुदायिक वन क्षेत्रको खाली र सिसौघारीले घेरिएको कोइलीबनगाई स्थित खारखानी क्षेत्र यतिबेला भने आन्तरिक पर्यटकहरुको आकर्षक स्थलको रुपमा विकास भएको छ । वडा नम्बर ७ स्थित यो स्थानमा वडा र नगरको विकास तथा सुन्दरीकरण कार्यक्रम पश्चात पर्यटकहरुको रोजाइमा पर्ने स्थलमा देखिएको हो । यो क्षत्र वडा नम्बर ७ स्थित प्रगति सामुदायिक वन क्षेत्रभित्र पर्दछ ।

बाणगंगा नगरपालिका– ७ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै रहेको खारखानी पछिल्ला महिनाहरूमा कपिलवस्तुको सबैभन्दा आकर्षक आन्तरिक पर्यटक स्थलको रूपमा उदाएको छ। दैनिक रूपमा सयौँ पर्यटक पिकनिकका लागि आउने गरेको कारण खारखानी अहिले केवल कपिलवस्तु मात्र नभई अर्घाखाँची, रुपन्देहीलगायत अन्य जिल्लाबाट पनि आगन्तुकहरूको मनपर्ने गन्तव्य बनेको छ।

वडाध्यक्ष विष्णु गिरीका अनुसार खारखानी क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै ‘खारखानी दिल पार्क एवं पिकनिक स्पट’को रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका र वडा नं. ७ ले निरन्तर लगानी गरिरहेको छ।

गर्मी मौसममा पानीको अभाव नहोस् भनेर नयाँ बोरिङ निर्माण गरी पर्याप्त शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ। प्रत्येक पिकनिक सेडमा धारासहित ढलान गरिएका बेन्च र टेबल राखिएको अध्यक्ष गिरीले जानकारी दिए।

खारखानी क्षेत्रमा पर्ने प्रगति सामुदायिक वनमा ३० बिघा क्षेत्रफलमा ३२ हजारभन्दा बढी बिरुवा रोपिएको छ। वनका अध्यक्ष लक्ष्मण खड्काका अनुसार टिक, जामुन, सिसौ, आँप, अमला, बडरालगायतका बिरुवा रोपेर वन क्षेत्र संरक्षण र पर्यटक आकर्षण दुवैको वातावरण निर्माण गरिएको छ। यस वर्ष जिल्ला वन कार्यालयको आर्थिक सहयोग, मोतीपुर सबडिभिजन वन कार्यालयको प्राविधिक सहयोग र वडा नं. ७ को समन्वयमा बिरुवा रोपाइँ गरिएको र सुरक्षा सुनिश्चित गर्न तारबार जाली पनि लगाइएको छ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेलका अनुसार प्रगति सामुदायिक वन कपिलवस्तुको नमुना सामुदायिक वन बन्ने सम्भावना राख्छ। सञ्चालन, संरक्षण, व्यवस्थापन र सामुदायिक सहभागिताको आधारमा प्रगति सामुदायिक वन जिल्लाकै उत्कृष्ट मोडेल बन्दै गएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार कोइली पुलको पश्चिमतर्फ फैलिएको हरियाली, नदी, चौर र पर्याप्त सुविधा भएको पिकनिक क्षेत्रले खारखानीलाई परिवार, विद्यार्थी, कार्यालय समूह र गोठालाहरूका लागि रमाइलो र सहज स्थल बनाएको छ। स्थानीय कृष्ण खनालका अनुसार स्थानीय तह, सामुदायिक वन र विभिन्न निकायको समन्वयमा अघि बढाइएको विकास गतिविधिले खारखानीलाई बाणगंगाको प्रमुख पर्यटकीय ब्रान्डको रूपमा स्थापित गर्दै छ।

सदावहार पिकनिक अर्थात वनभोजका लागि प्रख्यात ठाउँ हो, खारखानी । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली बनगाइदेखि ५ सय मिटर पश्चिममा रहेको यो स्थान वनभोजमा पुग्नेहरुका लागि रमणीय स्थान बन्ने गरेको छ । पुर्व पश्चिम राजमार्गसँगै जोडिएको स्थान पनि भएकाले यहाँ पुग्ने जो कोहीलाई यातायातमा सहजता छ । वनभोजका लागि आकर्षक सेडहरु, पर्याप्त पानी, खुला स्थान पनि भएकाले यहाँ रमाउन आउनेहरुलाई थप आकर्षक स्थान बन्न सक्छ । दैनिक जसो पिकनिकले भरिने यो स्थान जाडो याममा थप रमणीय बन्ने गर्दछ । खारखानी क्षेत्र प्रगति सामुदायिक वन क्षेत्र भित्र पर्ने स्थान हो । यहाँ पुर्वमा कोइली नदि र पश्चिममा सामुदायिक वनक्षेत्रले अगोटेको छ । खुला चौरमा सिसौ र खयरको छहारीमा पिकनिकमा रमाउनेहरु यहाँ बढी आउने गर्दछन् । यस क्षेत्रलाई पछिल्लो समय थप विकास गरी वनभोजमा आउनेहरुलाई ध्यानमा राख्दै सुविधाहरु समेत थप गरिएको हो ।

वनभोजमा रमाउन यी स्थानहरु पनि उत्कृष्ट

राजापानी : कपिलवस्तु जिल्ला तथ यस आसपासबाट वनभोजमा आउनेहरुका लागि राम्रो स्थान बन्न सक्छ राजापानी । बाणगंगा नगरपालिका–३ मा रहेको ऐतिहासिक राजापानी मुलभित्र राजापानी पार्क यहाँ आउनेहरुलाई रमणीय स्थान मानिएको छ । पछिल्लो समय राजापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तब्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने पिपरा चोकबाट करीब ५ किलोमिटरको दुरीमा अवस्थित ऐतिहासिक महत्व बोकेको राजापानी क्षेत्र फरक विशेषताहरुले भरिएको छ । राजापानी सामुदायिक वन उपभोक्ता समूहको करीव २७ हेक्टर क्षेत्रफलमा वाणगंगा नगरपालिकाको सुन्दर पार्कका रुपमा यो स्थान फैलिएको छ । यहाँ बनभोज आउनेहरुलाई लक्षित गरी करिब २ दर्जन सेड निर्माण गरिएको छ भने पश्चिम र दक्षिणपट्टि हराभरा बनले घेरेको साथै पिकनिक स्पोट, खेलमैदान, पर्यटकहरु घुम्ने पार्क, चराचुरुङ्गीको चिरचिरावट सहितको यो मनोरम क्षेत्र रहेकाले वनभोजको उपयुक्त स्थान राजापानी बन्न सक्छ । पिकनिक (वनभोज) गर्न, घुमफिर गरी रमाउन एवं संघ संस्थाले वार्षिक कार्यक्रम आयोजना गर्न यो क्षेत्र सबैको रोजाइमा पर्ने गरेको छ । राजापानी पर्यटन क्षेत्रभित्र विभिन्न ठाउँमा बस्ने, खाना पकाउने, नाच्ने ठाउँको सुविधा समेत छ ।

मधौलीया पार्क (लभ पार्क)

कपिलवस्तुमा पछिल्ला केही वर्षदेखि पर्यटकहरुको बढी रोजाईको अर्काे स्थान हो, मौधलीय पार्क अर्थात लभ पार्क । बाणगंगा नगरपालिका स्थित प्रसिद्ध मधौलिया वन पार्कको विस्तार गरी थप आकर्षक बनाइएका कारण पनि यहाँ विदा मनाउन तथा घुमफिर गर्न पुग्नेहरु बढ्दो छन् । बाणगंगा नगरपालिकाको पुर्व पश्चिम महेन्द् राजमार्ग स्थित बुङ्चि देखि करिब २ किलोमिटर दक्षिणमा अवस्थित यो पार्क अझ बढी लभ पार्कका नामले परिचित छ । फोटो सेशन र टिकटक भिडियो क्रियटरहरुका लागि यो पार्क रोजाइ बन्ने गर्छ । यहाँको नयाँ पर्यटकीय गन्तव्यको विकास स्वरुप सामुदायिक वन क्षेत्रलाई जैविक विविधताको संरक्षण सहति यो पार्क निर्माण गरिएको हो । माधौलीया सामुदायिक वन क्षेत्र भित्र पर्ने यो पार्कमा पिक्निक तथा घुमफिरका लागि मात्रै पनि आन्तरिक पर्यटकहरुको घुइचो नै लाग्ने गर्छ । बालबालिकाहरुका लागि रमणीय बाल उद्यान तथा घुमफिर गर्न र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन अहिले कपिलवस्तु सँगै दाङ,रुपन्देही र अर्घाखाँची, नवलपरासी लगाएतका जिल्लाबाट पर्यटकहरु आउने गरेका छन् ।

जगदिशपुर ताल

पाहुना चराहरूको स्वर्ग बनिरहेको कपिलवस्तुको जगदिशपुर ताल अर्काे आकर्षक गन्तव्य हो । घुमफिरसँगै चराहरुको चिरबिरसँग रमाउनेहरुका लागि मात्रै नभइ यहाँ वनभोज (पिकनिक) गर्न पुग्नेहरुका लागि पनि रमणीय स्थान बन्ने गरेको छ । जलपंक्षीहरूको आगमन बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्वसीमसार क्षेत्रमा सूचीकृत गरिएको थियो। यो ताललाई नेपाल सरकारले १ सय पर्यटकीय क्षेत्रभित्र समेटेर पर्यटन प्रवद्र्धनका कार्यक्रममा सघाउ पु¥याउँदै आएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका २० वटा पर्यटकीय क्षेत्रको सूचीभित्र यो ताललाई पनि समेटेको छ। हरेक वर्ष जाडोयाम सुरू भएसँगै रुस, चीन, मंगोलिया, साइबेरिया, तुर्केमिस्तान र कीर्गिस्तानबाट हजारौं चराहरू त्यहाँको जाडो छल्न यो तालमा आउने गर्दछन्। गत वर्ष कात्तिकदेखि फागुनसम्मको ५ महिनाको अवधिमा यहाँ २१ हजार चराहरू गणना गरिएको थियो। चराहरुको विचरणसँग आनन्द लिन यहाँ पुग्ने पर्यटकहरु औधी रुचाउँछन् । त्यसैले पनि वनभोजसँगै रमाउन पुग्नेहरुका लागि जगदिशपुर ताल महत्वपूर्ण गन्तव्य हो ।

लक्ष्मणघाट

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको लक्ष्मणघाट एक पवित्र धार्मिक स्थलको रूपमा परिचित छ। यसका साथसाथै यहाँ रमाउन पुग्नेहरुका लागि पनि यो स्थान राम्रो गन्तव्य बन्ने गरेको पाइन्छ । वाणगंगा र कोइली नदीको संगमस्थलमा रहेको यस स्थानलाई लक्ष्मणघाटको रूपमा चिनिन्छ। पौराणिक कथन अनुसार, रामले सीताको प्यास मेट्न वाण हानेर पानी निकालेर बाणगंगा नदी बनाएका थिए। यसै नदीको तटमा राम–लक्ष्मण वनबासका क्रममा लक्ष्मणले स्नान गरेको घाट भएकोले यो ठाउँलाई लक्ष्मणघाट भनिएको हो। यहाँ पिकनिकका लागि पनि सेडहरु निर्माण गरिएको छ । जहाँ विभिन्न स्थनका मानिसहरु पिकनिकका लागि आउने गर्दछन् । यहाँ आकर्षक मन्दिरहरु हेर्न र कपिलवस्तुको बृहत्तर सिँचाइ बाँध पनि अवलोकन गर्नेहरुलाई नौलो स्थान हो ।

कपिलधाम

मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत वा जीवित साधक एउटै थलोमा देख्न चाहनेहरु कपिलवस्तुको कपिलधाम आउँदा हुन्छ । यहाँ अहिले विभिन्न क्षेत्र र भाषा वाङ्मय साधना गर्ने राष्ट्रका २० बढी अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सकिन्छ । वाणगंगा नगरपालिका–९, कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ । बनगाई–भलवाड कालोपत्रे सडक खण्डको उत्तर लहरै सालिक देख्न सकिन्छ । यसबाहेक यहाँ स्थित प्रसिद्ध कपिल आरोग्य मिन्दर कपिलधाम यहाँको मुख्य आकर्षक विन्दु हो । मन्दिरै मन्दिरले भरिएको कपिलधाम क्षेत्रमा बाल उद्यान समेत निर्माण छ । यहाँ स्थित लुम्बिनी वाङ्मय प्रतिष्ठान, बौद्ध विहार, पुर्व र पश्चिममा दुई क्षेत्र भइ बग्ने कोइली नदि, खुला चौर र शान्त स्थान पनि भएकाले यहाँ घुमफिर गर्नेहरुलाई राम्रो स्थान बन्न सक्छ । प्राकृतिक चिकित्सा तथा आर्युवेदका बारे जानकारी लिन पनि उपयुक्त अध्ययनको केन्द्र बनिरहेको कपिलधाम कपिलवस्तु जिल्लाको विविध पक्षसँग जोडिएको स्थान पनि हो । पुर्व पश्चिम राजमार्ग देखि करिब ३ कि.मी उत्तरमा यो स्थान अवस्थित छ । यहाँ पुग्नेहरु घण्टौँसम्म भुलिरहन सक्छन् । खासगरी यहाँ विद्यालय उमेर समुहका विद्यार्थीहरुका लागि अध्ययन तथा जानकारी लिने उपयुक्त स्थान बन्न सक्छ ।

यसबाहेक यहाँ स्थित मधुवन धाम क्षेत्र, बाणगंगा ९ स्थित झरना पार्क, बुद्धभुमि स्थित ढिकरी, रामलक्ष्मण ताल, विजयनगर गाउँपालिकामा शङ्खरापुर ताल र उमरी डाँडा लगाएतका स्थान पनि वनभोजका लागि उत्तम स्थान हुन ।

यहाँ घुमफिरमा पुग्नेहरुले कपिलवस्तु जिल्ला भित्रको विविध पक्षलाई नजिकबाट नियाल्ने अवसर पनि पाउँछन् । हिउँद लागेसँगै पिकनिक अर्थात् वनभोजको लहर नै चल्न थालेको छ । नाम चलेका स्पटका कारण कतिपय राम्रा स्पटहरू ओझेलमा पर्ने र सिमित क्षेत्रमा भिँडभाड हुने हुन्छ । यस्तोमा एकै स्थानमा पटकपटक पिकनिक जानपर्यो भने खास रमाइलो नहुन पनि सक्छ । त्यसैले मानिसहरु नयाँ र आकर्षक गन्तव्यको खोजिमा रहेका बेला उल्लेखित स्थानहरु महत्वपूर्ण बन्ने पक्का छ ।

प्रतिक्रिया

खबर सबै