आविष्कार केन्द्रले बनायाे ग्यासबाट चल्ने शवदाह मसिन, २५ लाख रुपैयाँमा मुल्य

अधिकांश नेपालीको मृत्यु भइसकेपछि जलाएर अन्त्येष्टि गर्ने संस्कार छ । तर, यसरी जलाउँदा शव र  दाउराबाट निस्किने कार्बन डाइअक्साइड जस्ता ग्यासको उत्सर्जनले वातावरणलाई असर पुर्‍याइरहेको छ । त्यसैले पछिल्लो समय तुलनात्मक रूपमा वातावरणमैत्री र छिटो हुने भएकाले शवदाह मसिनबाट जलाएर दाहसंस्कार गर्ने चलन पनि बढ्दै गएको छ । तर नेपालमा यसरी प्रयोग हुने मसिनहरू विदेशबाट आयात गरिएका हुन्छन् । 

आयात गरिएका मसिनहरू महँगो भएको र गाउँ गाउँमा प्रयोग गर्न नसकिएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रले ग्यासबाट चल्ने शवदाह मसिन तयार गरेको छ । केन्द्रका इन्जिनियर राजु थापाको डिजाइनमा एक वर्षभन्दा लामो समय लगाएर उक्त मसिन तयार पारिएको हो । 

यो मसिनलाई नेपाली बजारमा २५ लाख रुपैयाँ तोकिएको केन्द्रका सञ्चालक महावीर पुनले बताएका छन् । शवदाह मसिनको जानकारी दिँदै उनले आफ्नो युट्युब च्यानलमा राखेको भिडिओमार्फत यस्तो जानकारी गराएका हुन् । 

उनले भनेका छन्, “यो मसिनलाई तपाईँले भारतबाट खरिद गरेर ल्याउनु भयो भने कम्तीमा ३० लाख भारु पर्छ । नेपालमा नै बनेको यसलाई हामीले नाफा नखाईकन बेच्ने भनेर २५ लाखमा दिएका छौँ ।” उनले इच्छुक समिति तथा व्यक्तिलाई उक्त मसिनमा मोलमोलाइ नगर्न समेत भिडिओमार्फत आग्रह गरेका छन् । 

उक्त मसिन धार्मिक प्रयोजनका लागि पनि भएकाले नाफा नराखेको उनको भनाइ छ । उनले भने, “मुर्दा पोलेर पैसा कमाउन बनाएको होइन ।” सानो शवदाह मसिन चाहिने भएमा कस्टमाइजेसनका लागि समेत सम्पर्क गर्न उनले आग्रह गरे । 

नेपालमा शवदाह मसिन करोडौँ खर्चिएर खरिद हुने गरेका छन् । गत असारमा शवदाह मसिनमा नै करोडौँको घोटाला गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सहित १४ जना र दुई कम्पनी विरुद्ध मुद्दा दायर समेत गरिएको थियो । ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मसिनको लागत अनुमान बढाएर १ करोड ५२ लाख रुपैयाँ देखाएको आरोपसहित उनीहरूमाथि लगाइएको छ ।  

मसिनका डिजाइनर तथा इन्जिनियर थापा नेपालमा बनेको मसिन उक्त मसिनसँग केही हदसम्म समान भए पनि तुलनात्मक रूपमा निकै सस्तो पर्ने बताउँछन् । नेपालमै बनेकाले मसिनमा केही समस्या आएमा त्यसको समाधान पनि सहजै दिन सकिने उनको भनाइ छ । 

केन्द्रमा तयार भएको उक्त मसिनको फ्रेम र बडी नेपालमा नै तयार पारिएको हो । मसिनमा प्रयोग भएका बर्नर (आगो लाग्ने भाग) र फायर प्रुफ ब्रिक्स (आगोले असर नगर्ने इँटा) भने भारतबाट किनेर ल्याइएको उनले जानकारी दिए । उनले भने, “उच्च तापक्रम धान्न सक्ने इँटा नेपालमा नबन्ने भएकाले इन्डियाबाट ल्याइएको हो ।” उक्त इटाले  १५०० देखि २००० डिग्रीसम्मको तापक्रम धान्न सक्ने उनले बताए ।

कस्तो छ मसिन ?
विशेषगरी ठुलो क्षेत्रफलको घाटलाई लक्षित गरेर तयार पारिएको यो मसिन कम्तीमा २५ सय किलोग्रामको छ । यसको लम्बाइ १०.५ फिट, चौडाइ ५.५ फिट र उचाइ ९ फिटको रहेको छ । यसमा चार वटा टर्बाइन मोटर र दुई ओटा बर्नर गरेर छ ओटा मोटर प्रयोग भएका छन् ।  सामान्यतः दाउरामा शव जलाउँदा तीन घण्टा वा सो भन्दा धेरै समय लाग्ने हुन्छ । पूर्ण रूपमा अटोमेटिक रहेको यो मसिनमा  शव राखेपछि जलेर नष्ट हुन ४५ मिनेटदेखि एक घण्टासम्म लाग्ने इन्जिनियर थापाले बताए । 

 बडी लिफ्टिङ, चेम्बर र फिल्टर सिस्टम गरेर  मसिनमा मुख्य तीन भागहरू रहेका छन् । मसिन चलाउनभन्दा पहिला बडी फिडरमा शव राखिन्छ । सो सबलाई मसिनको मुख्य चेम्बरमा पुर्‍याएर ढोका बन्द गरिन्छ । त्यसपछि मसिन चलाएर शव जलाइन्छ । 

जलाउँदा शवबाट निस्किने धुवाँलाई छान्न फिल्टर सिस्टम राखिएको छ । उक्त फिल्टरले ९० प्रतिशतसम्म कार्बनडाइअक्साइडलाई फिल्टर गरेर सोस्छ र गन्ध रहित धुवाँ बाहिर फ्याँक्छ । शव पूर्ण रूपमा जलिसकेपछि अलार्म बजाएर मसिनले जानकारी दिन्छ ।

उक्त मसिनबाट शव जलाउँदा खरानी पनि धेरै बाहिर आउँदैन । इन्जिनियर थापाले थपे, “मसिनबाट एक डेढ किलो अस्थि मात्र निस्किन्छ । मानिसहरूले आफ्नो संस्कारअनुसार अस्थि लगेर व्यवस्थापन गर्न सक्नुहुन्छ ।”यो मसिन एलपी ग्याँसबाट चल्ने उनले बताए । इन्जिनियर थापाले भने, “डेढदेखि दुई सिलिन्डर ग्यासमा पुरै शव जलिसक्छ । यस्तो हुँदा शव जलाउन लाग्ने ग्याँसको खर्च तीन देखि चार हजार रुपैयाँसम्म पर्न सक्छ ।” 

मसिनको डिजाइन माग अनुसार मोडिफाइ गर्न सकिने गरी तयार पारिएको छ । ग्यासको बर्नर निकालेर विद्युतीय हिटर राखेर विद्युत्‌मार्फत चल्ने बनाउन पनि सकिन्छ । ब्याट्रीबाट पनि चलाउन मिल्छ र सिङ्गल फेज लाइन भएको ठाउँमा पनि अपरेट गर्न सकिने गरी डिजाइन गरिएको उनले बताए । यसअघि केन्द्रले  सानो किसिमका विद्युतीय शवदाह मसिन समेत तयार गरेको उनले सम्झिए ।

मसिनको तापक्रम एक हजार डिग्री सेल्सियसभन्दा धेरैसम्म बढाउन मिल्छ । शव जलाउनका लागि ५०० डिग्री सेल्सियसको तापक्रमले समेत पुग्ने भएकाले उक्त मसिनले काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ । तर, हालसम्म मसिनमा शव हालेर परीक्षण भने भइसकेको छैन । केन्द्रले तयार पारेको मसिन बनेपामा लैजाने गरी बुकिङ भइसकेको उनले सुनाए । अब उक्त मसिनको परीक्षण पनि त्यहीँ हुनेछ । 

नेपालका सबै क्षेत्रमा प्रयोग गर्न सकिने उद्देश्यले मसिन तयार पारेको उनले बताए । इन्जिनियर थापाले भने, “गाउँघरमा सबै तिर घाट छ । तर सबै ठाउँमा विद्युत् पुग्न सकेको छैन । बत्ती नभएको ठाउँमा पनि प्रयोग गर्न सकिने गरी यसलाई तयार पारेका छौँ ।” 

यो मसिन कुनै निश्चित ठाउँमा जडान नहुने र सार्न सकिने गरी तयार गरिएको हो । तर यसको तौल भने धेरै भएकाले ट्रक वा क्रेनको प्रयोगबाट स्थानान्तरण गर्नुपर्ने हुन्छ । उनले थपे, “यो मसिनको बारेमा धेरैले चासो पनि राखी रहनु भएको छ । हामी पनि मसिनको लागि अर्डर आएमा एक महिनाभित्र तयार पार्न सक्ने अवस्थामा छौँ ।” # Techpana

प्रतिक्रिया

खबर सबै