एसीसी मेन्स यु १६ क्रिकेट : नेपालले आज भुटानसँग खेल्दै

मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आज भुटानसँग खेल्दैछ ।मलेसियाको सिलेगंर ट्रफ क्लबमा खेल नेपाली समय बिहान ७ः४५ बजेदेखि हुँदैछ । नेपाल र भुटान दुवैको यो समूह चरणको अन्तिम खेल हो।

नेपाल खेलेका तीनै खेलमा अपराजित छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानलाई हराउँदै नेपाल अपराजित रुपमा समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो।
अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाललाई पराजित गर्दै सान्त्वना जितका साथ भुटान प्रतियोगिता समाप्त गर्न चाहान्छ । एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।

नेपाली यु-१६ टोली : विपिनप्रसाद शर्मा (कप्तान), सुर्याशुं कोइराला, परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही

प्रतिक्रिया

खबर सबै