

एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि [भिडियो]





गुजरात अंकलेश्वरकी भूमि चौहान बिहीबार दुर्घटनामा परेको एयर इन्डियाकै विमानबाट लन्डन जाने तयारीमा थिइन् ।
घरबाट सडकमार्ग हुँदै विमानस्थलतर्फ लागेकी भूमि ट्राफिक जामका कारण समयमा एयरपोर्ट पुग्न सकिनन् । फ्लाइट छुट्दा उनी निकै दु:खी थिइन् ।
तर, उडेको क्षणभरमै उनी चढ्न नपाएको विमान दुर्घटनामा भयो । दुर्घटनामा जहाजका २४२ यात्रुमध्ये एकजना बाहेक सबैको ज्यान गयो । उनी अहिले विमान छुटेकोमा आभारी छिन् ।
‘ट्राफिक जामका कारण म समयमा अहमदाबाद एयरपोर्ट पुग्न सकिनँ । पाँच मिनेट ढिलो पुगेकाले मलाई विमानस्थल प्रवेश गर्न दिइएन,’ बीबीसी हिन्दीसँग कुरा गर्दै भूमिले भनिन् ।
टिकटको पैसा खेर गएको र जागिर पनि जानसक्ने डरले उनलाई पिरोलेको थियो । ‘अब म आभारी छु, मेरो पैसा त गयो तर, ज्यान बँच्यो,’ उनले भनिन् ।
भूमि पढाइका लागि केही वर्षअघि बेलायत गएकी थिइन् । दुई वर्षअघि उनको केवल चौहान नामका युवासँग विवाह भयो । केवल बेलायतको ब्रिस्टल शहरस्थित एक बैंकमा कार्यरत छन् ।
‘म बेलायतमा पढ्न गएकी थिएँ, त्यहाँ पार्ट टाइम जागिर पनि गर्थें । विवाह भएको दुई वर्षपछि म घर आएको थिएँ, डेढ महिनाको बिदा सकेर फेरि बेलायत फर्किन लागेको थिएँ,’ उनले भनिन् ।
भूमि गुजरातकै भारुच जिल्लाको अंकलेश्वर निवासी हुन् । उनले अनलाइनबाटै फ्लाइट चेक(इन गरेकी थिइन् । तर ढिला पुग्दा उनलाई बोर्डिङ पास दिइएन ।
विमानस्थलमा एयर इन्डियाका कर्मचारीले उनलाई ‘तपाईं ढिलो आइपुग्नु भो’ भनेर फर्काइदिए । उनी पुगिन्जेलसम्म अध्यागमनको काम सकिएर अन्य यात्रुले बोर्डिङ पास लिइसकेका थिए ।
‘त्यसैले म फ्लाइटमा चढ्न पाइनँ । मैले कर्मचारीहरूसँग बेलायत जान नपाए आफू जागिरबाट निकालिने बताएँ । मेरो टिकटको पैसा पनि खेर जान्छ भनें, तर उनीहरूले मेरो कुरा सुनेनन्,’ भूमि भन्छिन् । फ्लाइट छुटेर टिकटको पैसा फिर्ता माग्दा पनि नपाएकोमा उनलाई दुःख लागेको थियो ।
त्यसपछि विमानस्थलबाट बाहिरिएर घर फर्किने क्रममा चिया पिउँदै गर्दा उनले सो फ्लाइट टेकअफ लगत्तै दुर्घटनामा परेको थाहा पाइन् ।
‘म चिया पिउँदै थिएँ र ट्राभल एजेन्टसँग रिफन्डका लागि कुरा गर्दै थिएँ । त्यसैबीच अंकलेश्वरबाट फोन आयो र म चढ्न नपाएको फ्लाइट दुर्घटनाग्रस्त भएको खबर पाएँ,’ उनले स्तब्ध भावमा बताइन् ।
म तत्कालै मन्दिर गएँ र भगवानप्रति आभार व्यक्त गरें, अहमदाबादको ट्राफिक जामले मेरो ज्यान बँच्यो,’ उनले भनिन् ।
लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानडेली नागरिक सवार थिए । गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि विमानमै सवार थिए ।
विमान दुर्घटनाको कारण खुलेको छैन । विमानमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको छ । विमानस्थल नजिकैको डाक्टरहरू बस्ने भवनमा ठोक्किएकाले यात्रुसहित जमिनका मान्छेहरू पनि हताहती भएको आशंका छ । त्यसैले अझै क्षतिको यकिन विवरण आएको छैन ।
अहदाबादका एक वरिष्ठ स्वास्थ अधिकारीले विमानका यात्रुबाहेक दुर्घटनामा जमिनका ८ जनाको पनि मृत्यु भएको बताएको संवाददाता विकास पाण्डेलाई मेन्सन गर्दै बीबीसी हिन्दीले रिपोर्टमा लेखेको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार २४२ जनामध्ये भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्रै जीवित छन् ।
विश्वासले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानीमा भनेका छन्, ‘टेकअफको ३० सेकेन्डभित्रै ठूलो आवाज आयो र विमान दुर्घटना भयो, यो सबै एकदमै छिटो भयो ।’


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया