बोडगाँउमा मालपोत : उद्घाटनको दुई महिना बित्यो, थपिएन सेवा, नागरिकलाई सास्ती

कपिलवस्तु | गत फागुन ४ गते जिल्ला सदरमुकाम तौलिहवाबाट मालपोत तथा नापी कार्यालय बाणगंगाको बोडगाउँमा स्थापना भयो । सदरमुकाममा एकथरीको बिरोधका बिच पनि सारिएको मातलपोत र नापी कार्यालयको भुमि व्यवस्था तथा सहाकारी मन्त्री बलराम अधिकारीले उद्घाटन गरे । तर कार्यालय उद्घाटन गरेको झण्डै दुई महिना बित्नैलाग्दा समेत यहाँ कार्यालयमा आवश्यक सेवाहरु थप हुन नसक्दा भने यहाँ सेवा लिन आउने सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । एकैदिनमा हुने कामहरु समेत पुरा नहुदा सेवाग्रहीहरु निराश हुदैँ फर्किन बाध्य छन् ।

यसैपनि नेपालमा सबैभन्दा गन्जागोल कार्यालयको परिचय बनाएको मालपोतमा सामान्यतया नागरिकहरुले सास्ती खेपिरहेका त हुन्छन नै अझ त्यसमा पनि अति आवश्यक सेवा समयमै स्थापना नगरी कार्यालय उद्घाटनको हतारोले यहाँ थप जटिलता थपेको पाइएको छ ।

कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरुहरुको अभाव छ भने हाल अप्रयाप्त कर्मचारीहरुले जसोतसो सेवा प्रवाह गरिरहेका छन् । मालपोत अधिकृत हरिप्रसाद पौडेलसहित यहाँ हाल जम्मा सात जना कर्मचारी छन् । आवश्यक कर्मचारीसंख्या १४ जनाको रहेको भए पनि आधा कर्मचारीहरुले मुस्किलले काम गरिरहेका छन् । कर्मचारीको अभावभा प्रवाह भइरहेको कार्यालयको सेवामा कुनै एक कर्मचारी बिदामा बस्दा कार्यालयको उक्त दिनको सेवा प्रवाह नै खलबलिने गरेको छ ।

बाणगङ्गा नगरपालिका–८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको दुई महिना भयो । कार्यालय स्थापना भएको अर्काे दिन अर्थात फागुन ५ गतेदेखि यहाँबाट सेवा सुरु भएको थियो ।

उद्घाटन समारोहमा मन्त्री अधिकारीले स्थानीयवासीलाई अब जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण जस्ता सेवाहरू सहज रूपमा उपलब्ध हुने बताएका थिए । उनले सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका भए पनि अति आवश्यक सेवा थप हुन नसक्दा यहाँबाट सेवा सुस्त हुने गरेको छ ।

कार्यालय उद्घाटनका क्रममा मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको पहुँचमा ल्याउने सरकारको नीति अनुरूप कार्यालय स्थापना गरिएको बताउँदै भूमिसम्बन्धी अनियमितता, ढिलासुस्ती तथा विचौलियाको भूमिकामा कडाइ गर्न निर्देशन दिएका भए पनि बिचौलियाको सक्रियता समेत यहाँ उस्तै देखिन्छ ।

राजश्व बुझाउन चारनम्बरको दौडधुप

बोडगाउँ मालपोत कार्यालयबाट सेवा लिन पुग्ने सेवाग्राहीका लागि सबैभन्दा जटिल समस्या राजश्वको रकम बुझाउँदा हुने गरेको पाइएको छ । कार्यालय रहेको स्थानमा राजश्व काउण्टर नहुदा यहाँबाट सेवा लिने सेवाग्राहीले राजश्व बुझाउन चारनम्बर चोकसम्म धाउन बाध्य छन् । कार्यालय समयमा सेवा लिन टाढाटाढाबाट आउने सेवाग्राहीहरुले राजश्व बुझाउन चारनम्बर स्थित राष्ट्रिय बाणिज्य बैँकमा धाउन बाध्य छन् । मालपोत कार्यालय क्षेत्रमै राजश्व काउण्टर नहुदा बिचौलियाको भर पर्नुपर्ने बाध्यता छ भने आफैले राजश्व बुझाउन बैँकसम्म पुग्दा कार्यालय समय सकिने हुदा सेवाग्राहीहरुले एकैदिनमा सेवा लिन नपाइरहेको गुनासो समेत गरेका छन् ।

बोडगाउँबाट कार्यालय सञ्चालन भएको पहिलो दिन बाणगङ्गाका दुई जनाले सेवा लिएका थिए । त्यस यता नियमित सेवा प्रवाह भइरहेको भए पनि कार्यालय स्थापनाका बखत देखिएको खुसी दुई महिनाको सेवाप्रवाहमा देखिएको हैरानीले नागरिकमा निराशा पनि उत्तिकै देखिन्छ ।

मलपोत अधिकृत पौडेलका अनुसार कार्यालय क्षेत्रमै राजश्व काउण्टर स्थापनाका लागि माग गरिएको भए पनि त्यसको पहल अझै नभएको बताए । उनका उनले छिटै स्थापना हुने विश्वास समेत व्यक्त गरेका छन् ।

बिचौलियाको सक्रियता उस्तै

तौलिहवामा मालपोत तथा नापीको काम गर्न पुग्ने सेवाग्राहीहरु बिचौलियाको फन्दामा पर्ने र सेवा लिन ठूलो रकम खर्चनुपर्ने बाध्यतामा रहेका नागरिकहरुलाई कार्यालय स्थानान्त्रणले अब त्यस्तो हुदैन भन्ने लागेको थियो । तर तौलिहवामा जस्तै यहाँ पनि उत्तै छ । शैक्षिक हिसाबले फड्को मारेको बाणगंगामा जनचेतनामा कमी छैन तर मालपोत कार्यालयमा लेखापढी व्यवसायीहरुको सेटीङ र बिचौलियाको बिगबिगी बढ्दो छ । सामान्य नागरिकहरुलाई घुमाइफिराइ दुख दिने प्रवृत्तिले यहाँको सेवा प्रवाहलाई असर पारिरहेको छ ।

व्यवसायिक चहलपहलमा बृद्धि

बाणगंगाको बोडाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई सेवा सुरु भएयता यहाँको व्यवसायिक चहल पहलमा भने बृद्धि भएको छ । सामान्य अवस्थामा सुनसान रहेको बोडगाउँमा अहिले व्यवसायिक क्षेत्रहरु बढेका छन भने मालपोत कार्यालय आसपासमा कानुन तथा लेखापढी व्यवसायीहरुका कार्यालय, होटल, खाजाघर तथा कार्यालयीय प्रयोजनका कामकाज गराउने व्यवसायीहरुको समेत सक्रियता बढ्दो छ । यसले यहाँको व्यवसायिक पक्षलाई प्रर्वद्धन गर्न मद्धत गरेको देखिन्छ । यहाँका जग्गामा व्यवसायिक सटरहरु बन्ने क्रममा छन भने विभिन्न व्यवसाय समेत थपिने क्रम पनि बढ्दो छ । कार्यालय स्थापनाले यहाँका व्यवसायीहरु उत्साहित देखिएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको गत पुस ९ गतेको बैठकले कपिलवस्तुको वाणगंगा, जुम्लाको सिंजा र पर्साको पोखरीमा मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बजेट बनाउँदा कपिलवस्तु लगायतका स्थानमा मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको र सोही अनुसारले कार्यालय स्थापना भएको बताएका थिए । कार्यालय स्थापनाको खबरले उत्साहित भएका यहाँका नागरिकहरु सेवा लिन कार्यालयमा पुग्दा भने निराशामा परिणत हुने गरेका छन् । सरकारले समयमै आवश्यक कर्मचारीको पदपुर्ती तथा अत्यावश्यक सेवा थप नगर्दा सम्म यहाँको सेवा प्रवाहको हैरानी नागरिकले खेपिरहनु पर्ने देखिएको हो ।

प्रतिक्रिया

खबर सबै