

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान : ढुक्क भएर लगाउन आग्रह





काठमाण्डौ : आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ ।
विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले देशभर तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एपीभी) खोप दिन लागिएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो ।
त्यसैगरी अभियानका लागि ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
यसैबीच पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एपीभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ ।
विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन डा.प्रजापतिले आग्रह गर्नुभएको छ ।
नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।
हरेक वर्ष एक हजार तीन सय १३ जना र औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा.बुढाथोकीले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया