कपिलवस्तुमा पछिल्लो छ महिनामा थपिए ५५ कुष्ठरोगी, रोग निवारण चुनौतीपूर्ण बन्दै


कपिलवस्तु | कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको छ महिनामा मात्रै ५५ नयाँ कुष्ठ रोगी फेला परेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयले ७२औँ कुष्ठरोग दिवसका अवसरमा तौलिहवामा पत्रकार सम्मेलन गरी यो तथ्यांक सार्वजनिक गरेको हो। स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय–कुष्ठ अधिकृत मोहम्मद ईरफानले १२ वर्षअघि जिल्लाबाट कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि अहिले बिरामीको संख्या बढ्दै गएको बताए।

संघीयता लागू भएयता कुष्ठरोग निवारणका लागि बजेट र कार्यक्रमको कमी, दक्ष जनशक्तिको अन्यत्र स्थानान्तरण, र सीमित स्रोतले समस्या झन् जटिल बनेको उनको भनाइ छ।

तथ्यांकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा प्रति १० हजार जनसंख्यामा २।७ प्रतिशत बिरामी दर्ता भएका छन्। आर्थिक वर्ष २०८०र८१ मा २।७ प्रतिशतको दरले १८८ नयाँ बिरामी थपिएका थिए।

आर्थिक वर्ष २०७९र८० मा २।१ प्रतिशतका दरले १६८ बिरामी, २०७८र७९ मा १।८ प्रतिशतका दरले १२३ बिरामी, र २०७७र७८ मा १।९ प्रतिशतका दरले १२८ बिरामी फेला परेका थिए।

गत वर्ष मायादेवी गाउँपालिका(६ मा आयोजित शिविरमा एउटै परिवारका ३ कुष्ठ रोगी फेला परेका थिए। यस्तै, महरागञ्ज नगरपालिका(५ मा दुई शिविरको माध्यमबाट एउटै वडामा २८ नयाँ कुष्ठ रोगी फेला परेका थिए। चालु आर्थिक वर्षमा १० वर्षमुनिका २ नयाँ कुष्ठ रोगी र गत वर्ष १० जना १० वर्षमुनिका कुष्ठ रोगी दर्ता भएका थिए।

कुष्ठरोगका प्रमुख समस्यामा अशिक्षा, गरिबी, र जनचेतनाको अभाव परेका छन्। खुला सीमा र भारतबाट रोजगारीका लागि आउने–जानेको चापका कारण तराईका जिल्लामा रोगको नियन्त्रण कठिन भएको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक नारायण चौधरीले बताए।

स्वास्थ्यकर्मीहरूका अनुसार, प्रारम्भिक चरणमा कुष्ठरोगले गम्भीर असर नगर्ने भएकाले बिरामीहरू हेलचेक्र्याइँ गर्छन्। यशोधरा गाउँपालिकाको शिहोखोर स्वास्थ्य चौकीका अहेब केशव घिमिरेले भने, “बिरामीहरूले थला नपरेसम्म उपचार गर्न नआउने प्रवृत्तिले समस्या बढाएको छ।”

कुष्ठरोगले विस्तारै छाला बाक्लो बनाउने, स्नायुमा असर गर्ने, मांसपेशी कमजोर बनाउने र कामकाजमा कठिनाइ पुर्‍याउने स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय–कुष्ठ अधिकृत मोहम्मद ईरफानले जानकारी दिए। रोगको लक्षण देखा परेपछि २ देखि ५ वर्षमा यसले अंगभंगसम्मको समस्या निम्त्याउने उनले बताए।

कुष्ठरोगको निःशुल्क औषधि सरकारी स्वास्थ्य संस्थाहरूमा उपलब्ध छ। सामान्य बिरामीलाई ६ महिना र गम्भीर अवस्थाका बिरामीलाई १ वर्षसम्म औषधि सेवन गराइन्छ। रोग प्रारम्भिक चरणमा पत्ता लगाई उपचार गरिएमा अंगभंग हुने सम्भावना न्यून हुन्छ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले कुष्ठरोग निवारणका लागि व्यापक जनचेतना अभियान आवश्यक रहेको बताए। स्वास्थ्यकर्मीले रोग निवारणका लागि भारतसँगको खुला सीमा र बसाइँसराइको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरेका छन्।

१२ वर्षअघि जिल्लाबाट कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि बढ्दो बिरामीको संख्या चुनौती बनेको छ। प्रारम्भिक लक्षणमा उपचार गराएर रोग नियन्त्रण गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्।

प्रतिक्रिया