एनपीएलमा सर्वाधिक रन बनाउने ‘रोहित’ किन टिमलाई जित दिलाउन सकेनन् ? (भिडियोसहित)

 साझाकुरा, मंसिर २४ | नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका १५ खेल सकिँदा विभिन्न कीर्तिमान बनेका छन्। कुनै टोली हालसम्म अपराजित छन् भने कुनै जितविहीन छन्। हालसम्म जनकपुर बोल्ट्स सबैभन्दा माथि छ भने लुम्बिनी लायन्स सबैभन्दा तल छ।

यसो त जनकपुर अपराजित छ। लुम्बिनीले एउटा पनि खेल जितेको छैन। एनपीएलमा जनकपुरले ८ अंक बनाएर शीर्षमा छ। समान ६ अंकका साथ सुदूरपश्चिम र चितवन दोस्रो स्थानमा रहँदा कर्णाली याक्स ४ अंकका साथ तेस्रो स्थानमा छ।

सर्वाधिक रन बनाउने खेलाडी रोहित

एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल छन्। रोहितले ४ खेलको ४ इनिङमा कुल १ सय ८१ रन प्रहार गर्दै सर्वाधिक रन बनाएका हुन्। उनले ४५.२५ को औसतमा रन प्रहार गरिरहेका छन्।

उनको व्यक्तिगत उच्च स्कोरका रूपमा पोखराविरुद्धको ९५ रन रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए। उनको उच्च स्कोरमा टिमले १ सय ७० रन बनाए पनि १० विकेटले हारेको थियो। सर्वाधिक व्यक्तिगत उच्च रन बनाएर खेलिरहेका कप्तान रोहित टिमलाई जित दिलाउन भने असफल छन्।

लुम्बिनी लायन्सले खेलेका सबै ४ खेल गुमाएको छ। सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित रहँदा उनलाई जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले पछ्याइरहेका छन्। मिल्नथाले ४ इनिङमा ५६ को औसतमा १ सय ६८ रन बनाएका छन्।

लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिने संघारमा

लुम्बिनीले हालसम्म जित निकाल्न सकेको छैन । चारमध्ये २ खेल लुम्बिनीले नजिक पुगेर हारेको थियो । पहिलो खेलमा विराटनगरलाई १९२ रनको लक्ष्य दिएर पनि जोगाउन सकेको थिएन । उक्त खेलमा विवेक यादवले ३.५ ओभरमा ६५ रन व्यहोरेका थिए ।

त्यस्तै आइतबार भएको चौथो खेल अन्तिम बलमा पुगेर १ रनले हारेको थियो । बाँकी दुई खेलमा भने लुम्बिनीले एकपक्षीय हार व्यहोरेको थियो । पोखराले १० विकेटले हराउँदा सुदूरपश्चिमले टप अर्डर ब्याटिङ ध्वस्त पार्दै लुम्बिनीलाई हराएको थियो ।

प्रतियोगिताअघि रोहित पौडेल, सन्दीप जोरा र विवेक यादवजस्ता नेपाली खेलाडी तथा बेन कटिङ, टम मूर्स, साद बिन जफर, उन्मुक्त चन्द, रामोन सिमोण्ड्सजस्ता खेलाडीको साथले बलियो लाइनअप देखिएको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने संघारमा छ ।

कप्तान रोहित पौडेलले राम्रो अलराउण्ड प्रदर्शन गर्दा अन्यबाट भने कन्सिस्टेन्ट प्रदर्शन हुन सकेको छैन । ओपनिङ कम्बिनेशनमै तीन परिवर्तन गरिसकेको लुम्बिनीले हालसम्म ओपनिङमा राम्रो गर्न भने सकेको छैन । विदेशीबाट जफरले बलिङ राम्रो गरिरहँदा ठुला नाम बेन कटिङ चलेका छैनन् ।

मिडलमा टम मूर्सले ठुला शटहरू खेलिरहेका छन् भने पावर हिटिङमा विवेक यादवले राम्रै गरिरहँदा सन्दीप जोराले ठीकै गरिरहेका छन् । विशेषगरी आइतबार १ रनको हार व्यहोर्नुअगाडि उनी स्ट्राइकमा थिए । उनले नै खेललाई जीवित राखेका थिए तर उनले नै फिनिसिङ गर्न सकेनन् ।

पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्स ठीकै देखिएका छन् भने स्पीनमा जफर र कप्तान रोहितले राम्रो गर्दा सुर्य तामाङले हालसम्म विकेट लिएका छैनन् ।

लुम्बिनीले अब चितवन, काठमाण्डु र कर्णालीसँग खेल्न बाँकी छ । लुम्बिनीलाई तीनवटै खेल राम्रो अन्तरले जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।

लुम्बिनीले खेल्न बाँकी : चितवन, काठमाण्डु र कर्णाली
प्लेअफ सम्भावना : ५%

प्रतिक्रिया