एनपीएल : रोमाञ्चक खेलमा लुम्बिनी चुक्यो, विराटनगरको पहिलो जित
१९ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।
विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो ।
लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए ।
सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।
सोलले ४ बलमा अविजित १४ रन बनाए । दिपक बोहरा ९ रनमा अविजित रहे ।
विराटनगरको जितको आधार खडा गरेका ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै बसिर अहमदले २३ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ४० रन योगदान गरे ।
मार्टिन गप्टिलले १७ बलमा ६ चौका प्रहार गर्दै २८ रन बनाए ।
लोकेश र गप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । यस्तै लोकेशले पाँचौ विकेटका लागि बसिरसँग ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन खेलको जितमा आधार बनेको थियो ।
बलिङमन लुम्बिनीका लागि दुरग्श गुप्ताले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै साद विन जफर र रामोन सिमोण्ड्सले २-२ विकेट लिए । सादले ३५ तथा सिमोण्ड्सले ३३ रन खर्चिए ।
सबैभन्दा महँगा बनेका विवेकले ३.५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो । विराटनगरले चेस गर्नुअघि जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो । तर विराटनगरले त्यसलाई पनि तोड्दै जित निकाल्यो ।
लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अर्धशतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरेका थिए । यो जोडी ब्याटिङ गरिहरँदा २०० स्कोर कट्ने जस्तो देखिएको थियो । तर राजेश पुलामीले साझेदारी ब्रेक गरेपछि विराटनगरले बलिङमा पुनरागमन गरेको थियो ।
तैपनि विवेक यादवलेकेमियो इनिङ्स खेल्दै ७ बलमा अविजित १९ रन बनाएपछि लुम्बिनीले लिगकै उच्च स्कोर बनाएको हो । विवेकले ३ छक्का प्रहार गरे ।
यसैगरी अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए ।अष्ट्रेलियन अलराउण्डर बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए । सन्दीपले जार लिगमा तेस्रो खेलमा आएर पहिलो विकेट लिएका हुन् । लुम्बिनीमा चार खेलाडी रनआउटको शिकार बनेका थिए ।
प्रतिक्रिया