अक्सनमा भाग्यमानी बनेको लुम्बिनी लायन्स, विदेशीको आगमनपछि बन्यो यस्तो !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको टिम हो लुम्बिनी लायन्स । फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो ।

लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय टिमबाटै खेलिसकेका सन्दिप जोरा, विवेक यादव र सूर्य तामाङ पनि यसै टिममा छन् । सन्दिप जोराले केही समयअघि हङकङ सिक्सेसमा नेपालको कप्तानी गरेका थिए । विवेकले पनि त्यस प्रतियोगिता खेलेका थिए ।

लुम्बिनीको रोचक संयोग के छ भने रोहितसहित अर्जुन साउद विवेक यादव र सुर्य तामाङले २०२२ मा भएको नेपाल टी२० लिग विराटनगर सुपर किंग्सबाट सँगै खेलेका थिए ।

लुम्बिनीका पाँच खेलाडीसँग राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । यस्तै तिलक राज भण्डारी र दुर्गेश गुप्ताले नेपालको यू१९ टिमबाट खेलिसकेका छन् । दुवैले गत यू१९ विश्वकप समेत खेलेका थिए ।

आशुतोष घिरैयाले नेपाल ए टिमबाट खेलिसकेका छन् । उनी घरेलु क्रिकेटमा पनि राम्रो खेलिरहेका छन् । यस बाहेक दिनेश अधिकारी, विकास आग्री र अभिषेक गौतमले पनि घरेलु क्रिकेटमा राम्रो खेलिरहेका छन् ।

विदेशी खेलाडीमा लुम्बिनीले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई सुरुमा अनुबन्ध गरेको थियो । सुरुमा डेभिड वार्नर ल्याउने प्रयास गरेको हल्ला चलेपनि लुम्बिनीले बेन कटिङ ल्यायो ।

यसबाहेक इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट यू१९ विश्वकप जितेका र हाल अमेरिकामा खेल्ने उन्मुक्त चन्द र बारबाडोर्सका युवा पेस बलर रामोन सिमोन्ड्स छन् ।

भारतको ए टिमबाट खेलिसकेका उन्मुक्त चन्दले अमेरिका सिफ्ट हुनुअघि मुम्बई, राजस्थान र दिल्लीबाट आईपीएल खेलेका थिए ।

लुम्बिनी लायन्सले लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट कोच नियुक्त गरेको छ । यसैगरी भारतका नन्दन फाडनिस मुख्य प्रशिक्षकमा छन् । उनी यसअघि नेपाली राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षकको रुपमा काम गरेका थिए ।

लुम्बिनीको अर्को विशेषता भनेको यो टिमसँग महानायक राजेश हमाल पनि जोडिएका छन् । नेपाली सिने जगतकै सबैभन्दा ठूलो स्टार र चर्चित व्यक्ति राजेश हमाले लुम्बिनीको ब्राण्ड एम्बासडर हुन् ।

लुम्बिनी लायन्सको टिम :
ओनर : फर्चुना हेल्थ केयर (इश्वर जिसी)
मार्की प्लेअर : रोहित कुमार पौडेल
अन्य खेलाडी : सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
विदेशी खेलाडी : बेन कटिङ, टम मुर्स, उन्मुक्त चन्द, रामोन सिमोन्ड्स
मुख्य प्रशिक्षक : नन्दन फाडनिस
आइकोनिक प्लेखर : अरिफ खान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
ब्राण्ड एम्बासडर : राजेश हमाल

बलियो पक्ष : बलियो मिडल अर्डर र नेपाली ब्याटर
अक्सनमा सबैभन्दा भाग्यमानी बनेको लुम्बिनीले राम्रो खेलाडी पाएको थियो । राष्ट्रिय टिमका कप्तान रोहितसहित लुम्बिनीको ब्याटिङ लाइनअप राम्रो छ ।

रोहितसहित नेपालका सन्दीप जोरा, आशुतोष घिरैया, अर्जुन साउद हुँदा ब्याटिङ लाइनअप राम्रो छ । त्यसअमा नेपालका अलराउण्डर विवेक यादवसहित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ, विकेटकिपर टम मुर्स र उन्मुक्त चन्द थपिँदा अझ राम्रो बन्न सक्छ ।

टप अर्डरमा आशुतोष र अर्जुन साउद छन् । आशुतोष र उन्मुक्तले ओपनिङ गरेमा अर्जुनले मिडल अर्डरमा पनि ब्याटिङ गर्न सक्छन् । विदेशी खेलाडी टम मुर्स र उन्मुक्तलाई पनि टप वा मिडर अर्डरमा प्रयोग गर्न सकिन्छ ।

यसरी हेर्दा लुम्बिनीले ६ नम्बरसम्म ब्याटर खेलाउन सक्नेछ । त्यसमा अलराउण्डर बेन कटिङ र विवेक यादव लोअर अर्डरमा हुँदा ब्याटिङ अझ सन्तुलित बन्न सक्छ ।

कमजोर पक्ष : बलिङमा अनुभवको कमी
ब्याटिङ लाइनमा बलियो देखिएको लुम्बिनीको बलिङ लाइनअप भने कमजोर देखिन्छ । लुम्बिनीको बलिङ अट्याक कम अनुभवी देखिएको छ । लुम्बिनीमा नेपाल र विदेशी कुनै पनि स्टार बलर छैनन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर सूर्य तामाङ नै लुम्बिनीको मुख्य बलर हुन् । यसैगरी आईसीसी यू१९ टिमबाट खेलिसकेका स्पीनर तिलक राज भण्डारी र पेस बलर दुर्गेश गुप्तालाई लुम्बिनीले अक्सनबाट लिएको थियो ।

ब्याटिङमा राष्ट्रिय टिमबाट खेलेका खेलाडी पाएपनि बलिङमा भने लुम्बिनीले स्टार खेलाडी पाउन सकेन । पेस बलिङ गर्ने दिनेश अधिकारी र विकास आग्रीसँग ठूलो खेलको अनुभव छैन ।

यसबाहेक विदेशी खेलाडीमा वेष्ट इन्डिजका युवा पेस बलर रामो सिमोन्ड्स छन् । यस्तै अलराउण्डर बेन कटिङले पार्ट टाइम पेस बलिङ गर्छन् ।

लुम्बिनी बलिङमा युवा बलर र पार्ट टाइमररमा निर्भर रहनुपर्ने अवस्था छ । कप्तान रोहितले पार्ट टाइम स्पीन गर्न सक्नेछन् भने विवेक पेस बलिङ अलराउण्डरको रुपमा रहनेछन् ।

लुम्बिनी लायन्सको खेलहरू :
डिसेम्बर ४ (मंसिर १९) : विराटनगर किङ्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ६ (मंसिर २१) : पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ७ (मंसिर २२) : सुदूरपश्चिम रोयल्ससँग (विहान ९ः१५)
डिसेम्बर ८ (मंसिर २३) : जनकपुर बोल्ट्ससँग (विहान ९ः१५)
डिसेम्बर १० (मंसिर २५) : चितवन राइनोजसँग (विहान ९ः१५)
डिसेम्बर ११ (मंसिर २६) : काठमाण्डु गुर्खाजसँग (दिउँसो १ः१५)
डिसेम्बर १३ (मंसिर २८) : कर्णाली याक्ससँग (विहान ९ः१५)

प्रतिक्रिया