मेडल र प्रमाणपत्रले चलेन दैनिकी : पलायन हुँदै कपिलवस्तुका प्रतिभावान खेलाडी

राजेन्द्र खनाल, कपिलवस्तु | आफ्नो देशका लागि खलकूदको माध्यमबाट मरिमेटी पदक दिलाइरहेका खेलाडी पछिल्लो समय धमाधम खेल जीवनबाट पलायन हुने क्रम बढेको छ । खेलकै हुटहुटी र खेल नै आफनो जीवन बनाएका खेलाडीलाई खेलसम्बद्ध सरोकारवाला निकायले गर्ने ह्यभावले उनीहरु खेलबाट पलायन हुने क्रम बढेको पाइएको हो । जसका कारण देशका लागि त्यस्ता प्रतिभावान खेलाडीको अभाव हुने क्रम पनि बढ्दो छ ।

राज्यले खेलकूदमा विनियोजन गर्ने बजेटमाथि एक थरी मान्छेको ब्रहमलुट चलिहेरका कारण तेजस्वी खेलाडीहरु खेल जीवनबाट पलाएन भइरहे । यो घटना निरन्तर अहिले पनि चलिहयो ।

साढे तीन वर्ष अघि खेल जीवनमा पहिलो खुट्किलो टेकेका कपिलवस्तुका रोहित कुमार गुप्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा नगन्य मात्रामा मात्रै दोस्रो वा तेस्रो भए । बरु उनी सधै प्रथम भए । त्यही उनको प्रथम स्थान सधै कपिलवस्तुले पाइरहयो, उनको जिल्लाले हासिहासि गोल्ड मेडल र पुरस्कार ग्रहण गर्याे । तर गुप्ताको मुहारमा खेल प्रतिको रुचि जगाउने र आफुले पाएका मेडलमा खुसी बटुल्ने कार्यमा न खेल पदाधिकारी लागे, न उनलाई हौसला दिन जिल्लाका कुनै निकाय ? कतैबाट पनि साथ र समर्थनको संकेत समेत नदेखिएपछि सामान्य परिवारका रोहित अहिले आफ्नो खेल जीवनबाट पलायन हुने मोडमा पुगेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ का रोहित कुमार गुप्ता नेपालको एथ्लेक्टिक्स तर्फ ४ सय मिटरका धावक हुन । उनी यो खेलमा लागेपछि बिरलै दोस्रो वा तेस्रो भएका छन् । रोहितलाई लुम्बिनी प्रदेशमा आज सम्म कसैले पहिलो हुन अर्थात गोल्ड मेडल जित्नबाट रोकेको छैन । तर उनै रोहित अहिले आफू अब खेल जीवनबाट अघि बढ्न नसक्ने नैराश्यपूर्ण स्थितिमा पुगेका छन । कारण, उनले यो क्षेत्रमा समर्थन र सहयोगको कतै पनि बाटो भेटाएनन् ।

(तस्बिर : राष्ट्रपति रनिङ सिल्ड २०८० मा गोल्ड मेडल जितेका रोहित कुमार गुप्ता ।)

वि.सं. २०८० मा राष्ट्रिय स्तरको काठमाण्डौमा भएको राष्ट्रपति रनिङ सिल्डमा गोल्ड मेडल जितेका रोहित सोही वर्ष २ वटा गोल्ड मेडल जित्ने खेलाडी हुन । आफूले एकैवर्ष दुईवटा गोल्ड मेडल जितेको दिनलाई स्मरण गर्दै उनी भन्छन्, “म भित्र खेलको हुटहुटी छ, तर त्यतिले मात्रै निरन्तर खेल्न नसकिने रहेछ । परिवारको आर्थिक अवस्थाका कारण अब खेल्न सक्दिन भन्ने अवस्थामा पुगेको छु ।” आफु लुम्बिनी प्रदेशबाट सधै प्रथम भएको उनले सुनाए । साढे ३ वर्ष देखि एथ्लेक्टिक्समा दौडिरहेका रोहित गुप्ता अहिले समर्थन र सहयोग नपाउँदा खेलबाट बाहिरीदैँ छन् ।

२०७९ सालमा हृदयघातका कारण बुवाको निधन भयो । यही बेला रोहित नवौँ राष्ट्रिय खेलकूदमा सेलेक्सनमा परे । एकातर्फ आफु सेलेक्सनमा परेको खुसी थियो, अर्काे तर्फ बुवाको निधनको खबरले शोकमा परे । रोहित भावुक हुँदै भन्छन्, “आफ्नो खुसी साट्न पनि नपाउँदै बुवालाई गुमाउनुपर्याे ।”

उनका दाइ पनि राष्ट्रिय खेलाडी थिए । परिवारको आर्थिक अवस्था कमजोर भएपछि परदेशीएका उनी हाल युएईमा छन् । रोहितको परिवारमा हाल आमा छोरा मात्रै छन् । “आर्थिक अभावका कारण नै दाइले पनि खेल छोड्नुपर्याे, अब म पनि छोड्छु” उनले भने ।

जिल्लाबाट खेलकूदका प्रतियोगितामा खेलाडी लिएर जाने खेल पदाधिकारी र अन्य व्यक्तिहरुले मोटो रकम कुम्ल्याउने तर खेलमा पदक दिलाउने खेलाडीले पैसा नपाउने गरेका कारण खेलाडीहरु खेल छोड्न बध्य छन् । कपिलवस्तुबाट गुप्ता मात्रै होइन यस्ता खेलाडी धेरै छन् ।

(तस्बिर : कपिलवस्तुलाई आधादर्जन बढी पदक दिलाइसकेका एथ्लेक्टिकसका धावक अजय पाण्डे ।)

कपिलवस्तुमा राष्ट्रिय खेलमा सहभागी भएका अर्का खेलाडी हुन अजय पाण्डे । उनी पनि रोहितसँगै एथ्लेक्टिकसमा राम्रो सम्भावना भएका खेलाडी मानिन्छन् । उनले कपिलवस्तुलाई आधादर्जन बढी पदक दिलाइसकेका छन् । प्रदेशका विभिन्न चरणबाट सेलेक्सनमा परी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिश्प्रधामा भाग लिएका बाणगंगा नगरपालिका वडा नम्बर ९ का पाण्डे पनि अब यसैगरी निरन्तर खेलमा लागि रहन नसक्ने निश्कर्षमा पुगेका छन् । अजयले भन्छन्, “मेडल र प्रमाणपत्रले मात्र जीवन चलाउन नसकिने रहेछ, साथ र सर्पाेट कतैबाट पनि हुँदैन । वडा, नगरपालिका र प्रदेशले खेलाडीलाई सहयोग गर्दैनन् । उनी भन्छन्, “खेलकुदमा राजनिति धेरै हावी भएका करण अब विदेशीने बाहेक अरु विकल्प देखिदैन ।” उनी हालै रुपन्देहीमा सम्पन्न भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाएनन् । उनलाई खेल सम्बद्ध व्यक्तिहरुका कारण बञ्चित बनाइएको बताइएको छ ।

यतिमा मात्रै कुरा सिमित छैन । कपिलवस्तुमा बाणगंगा ६ का निशान न्यौपाने पनि यस्तै मोडमा पुगेका छन् । उनी फुटबलका प्रतिभावान खेलाडी हुन । लामो समय एन्फा एकेडमीबाट कक्षा १२ सम्म उत्तिर्ण गर्दा कप्तान भएका थिए । उनी नेपालमा हुने ए डिभिजन लिगहरुमा समेत उत्कृष्ट प्रर्दशन गरेका खेलाडी हुन । कपिलवस्तुलाई चिनाउन जिल्लाबाट विभिन्न खेलहरु समेत खेले । उनी जावलाखेल युथ क्लवबाट फुटबल खेल्छन् । पछिल्लो समय प्रतिभावान खेलाडी पछि पर्ने तर राजनैतिक आडका कारण नेता र खेल पदाधिकारीका निकटका मान्छेले अवसर पाउदा उनीहरु सधै पछि परिरहे । एकातिर खेलका कारण आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको उनको गुनासो छ । जसका कारण उनी विदेशिने मुडमा पुगेका छन् । यतिखेर उनी विभिन्न मेनपावर धाइरहेको बताए ।

(तस्बिर : निशान न्यौपाने फुटबलका प्रतिभावान खेलाडी)

खेदकूदको बजेट : खेलाडीलाई कम, पदाधिकारीको भान्छामा बढी खर्च

खेलकुदमा पदाधिकारीहरु नियमानुसारले खेलाडी र प्रशिक्षकहरु नियुक्त हुनुपर्ने प्रावधान रहेता पनि राजनितिक नियुक्तिबाट कुनै पनि खेलको ज्ञान नहुने व्यक्तिलाई नियुक्ति गर्ने परिपाटीका कारण खेलाडीहरु पलायन हुने क्रम बढेको खेल सम्बद्ध जानकारहरुले बताएका छन् । अझ खेलकूदका लागि विनियोजन भएको बजेटमा खेलाडीका लागि भन्दा खेल पदाधिकारीको भान्छा र वन्दोवस्तमा बढी खर्च हुने गरेको समेत खेलाडीहरुको गुनासो छ । खेलाडीहरुलाई प्रति खेलाडी ५ सयको जर्सी दिएर पदाधिकारीले ३ हजार सम्मको ट्याक्सुट लगाउने पदाधिकारीहरुको प्रतियोगितालाई पर्वको रुपमा मनाउने गरेको गुनासो समेत छ । यसबाहेक संघीयतासँगै जिल्ला खेलकुद विकास समितिबाट अधिकार कटौती गरी स्थानीय तहमा अधिकार प्रदान गर्दा लगाम नभएको कारणले गर्दा खेलकुदको बजेटमा मनोमानी भइरहेको समेत पाइएको हो ।

पालिकाहरुले खेलकुदका कार्यक्रम संचालन गर्दा आवश्यक कार्याविधि बनाउन नसक्नु र बिना कार्याविधि बजेट खर्च गर्ने परिपाटीले समेत यसको फाइदा खेलाडीले भन्दा अन्य पक्षले बढी लिने गरेको बुझिन्छ । कपिलवस्तुका केही पालिकाले मात्रै कार्यविधि बनाएका छन भने अधिकाशंले कार्याविधि बिना नै खेलकुदको बजेट मनोमानी खर्च गर्छन । विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाले मात्रै हाल स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रही खेलकुद ऐन बनाएका छन् र सोही अनुसारले काम गरेको पनि देखिएको छ ।

कपिलवस्तु जिल्लामा डेढ दर्जन खेलकुद संघहरु र ६० बढी क्लवहरु रहेका छन् । तर अधिकासं क्लवहरु नविकरण समेत नभएको जिल्ला खेलकुद समितिका सचिव मिन प्रसाद पोखरेलले बताए । पछिल्लो एक दशकको अवधिमा कपिलवस्तु जिल्लामा खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय गरी ६० भन्दा बढी पदकहरु दिलाएका छन् । ती पदक जिल्लालाई दिलाउने खेलाडीहरु समेत अधिकतम खेलबाट पलायन भइसके । कतिपय विदेश गइसकेको अवस्था रहेको पोखरेलले बताए । २०७२ अघि सम्म कपिलवस्तुमा आफू कार्यालय प्रमूखको रुपमा आउँदा जम्मा ४÷६ वटा मात्रै राष्ट्रिय स्तरका पदक प्राप्त गरेको थियो भने हाल त्यो संख्या बढेर ६० भन्दा बढी पुगेको जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिनप्रसाद पोखरेलले बताए । यो एक दशकको अवधिमा खेलकुद र खेलाडी उत्पादनमा राम्रो काम भएको पनि उनको भनाइ छ । तर खेलाडी भने खेलजीवनमा टिकाइराख्न समस्या रहेको छ ।

कपिलवस्तुबाट ज्याब्लिङका खुरर्सेद अहमद खाँ (हाल अमेरिका), हाइजम्पका जुनियर च्याम्पिएन प्रभु थारु, (हाल नेपाल आर्मीमा), दुई समय मिटरका राष्ट्रिय च्याम्पिएन तुलसी थारु हाल (बिरामी), जयसराम थारु, (हाल मजदुरी), ४ सय मिटरको राष्ट्रिय खेलाडी सन्दिप थारु शिक्षण पेसामा आबद्ध छन् । यसबाहेक करातेँका सागर खासु हाल वैदेशिक रोजगारीमा रहेका छन् । यस्तै ब्याडमिन्टनका अभय महरा राष्ट्रिय च्याम्पिएन भएता पनि आर्थिक अवस्थाका कारण विदेश पलायनको तयारीमा छन् । कपिलवस्तुका लागि करातेँका हस्ती राजिब सुनार समेत विदेश पलायन हुँदै छन् । यस्तै २०८१ मा बंगलादेशमा भएको विद्यालय स्तरीय उसुका खेलाडी बिराज सुनार गोल्ड मेडलिस्ट हुन । उनले उक्त खेलमा नेपालका तर्फबाट गोल्ड मेडल प्राप्त गर्ने खेलाडी हुन । यस्तै कराँतेका प्रशान्त पुन मगर पनि राष्ट्रय स्तरमै दोहोरो स्वर्ण जितेका खेलाडी हुन । उनले पनि खेलकुदमा यस्तै विकृति हावी भए आफु पनि पलायन हुने अवस्था आउने बताए ।

(तस्बिर : हाइजम्पका जुनियर च्याम्पिएन प्रभु थारु ।)

पदाधिकारीबिहिन जिल्ला खेलकुद विकास समिति

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुमा गत जेठ महिना देखि पदाधिकारी विहिन बनेको छ । केन्द्र र प्रदेशमा हुने सरकार परिवर्तनको असर जिल्ला खेलकुद विकास समितिमा समेत देखिएको हो । यस अघि कांग्रेस–माओवादीको सरकार हुँदा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजेश कुमार उपाध्याय थिए । तर वर्तमान सरकारले नयाँ अध्यक्ष नियुक्त अझै गरेको छैन । जसका कारण समिति पदाधिकारी विहिन छ । अब तिहार पछि समिति गठन हुने बताइएको छ ।

प्रदेश खेलकुद परिषद् नियमावली पहिलो संसोधन २०७८ ले ऐन वमोजिम गठन भएको परिषद विगठन भएमा त्यस्तै परिषदले विगठन हुनु भन्दा अगाडी गठन गरेका समितिहरु स्वतहः विगठन हुने छ भन्ने व्यवस्था गरे अनुसार प्रदेश खेलकुद परिषद विगठन हुँदा सोही अनुसार प्रदेशका सबै जिल्ला खेलकुद विकास समितिहरु समेत स्वतहः विघटन भएका थिए । तर परिषदले हाल प्रदेश खेलकुद विकास परिषदमा किरण गौतमलाई सदस्य सचिवको रुपमा नियुक्त गरि पठाएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरण गौतम आफै अन्तराष्ट्रिय रेफ्रि र राष्ट्रिय स्तरको खेलाडी समेत हुन । जसका कारण आगामी दिनमा लुम्बिनी प्रदेशमा खेलकुदको स्तर वृद्धि र समितिमा विज्ञ व्यक्तिको उपस्थिति हुने विश्वास गरिएको छ । यसबाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समेत खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत भइ काम गरेका र अनुभव प्राप्त गरका कारण प्रदेशमा खेलकुदको विकासमा उल्लेखनीय प्रगति हुने विश्वास खेल सम्बद्ध व्यक्ति तथा खेलाडीहरुको छ ।

उता प्रदेश खेलकुद विकास ऐन २०७६ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार जिल्ला खेलकुद विकास समिति गठन हुने व्यवस्था रहेको छ । सो नियमावलीको नियम १० मा जिल्ला खेलकुद विकास समितिको गठन गर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार खेलकुदको क्षेत्रमा योगदान दिएका खेलाडी, वा प्रशिक्षक वा रेफ्रि वा खेल संघका पदाधिकारी वा खेलकुद विज्ञहरु मध्येबाट अध्यक्ष हुने व्यवस्था स्पष्टसँग लेखिएको छ । भने उक्त समितिमा सोही वमोजिमको उपाध्यक्ष र कोषाध्यक्ष हुन्छ र सोही वमोजिमको कम्तिमा दुई महिलासहित ६ जना सदस्य हुने व्यवस्था छ साथै जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि पदेन सदस्य र जिल्ला खेलकुद समितिको कार्यालय प्रमुखलाई सचिव हुने प्रावधान छ । तर विगतका दिनहरुमा नियमावलीले स्पष्ट व्यवस्था गरेको भएता पनि राजनैतिक नियुक्तबाट गैर खेलाडी तथा प्रशिक्षकहरु समितिको पदाधिकारीमा आउने गरेका कारण यहाँको खेलकुदको मर्म र खेलाडीको भावना कुण्ठित भइरहेको बुझिन्छ ।

यस्तै यसको असर कपिलवस्तुमा खेलकुदका संरचनाको पूर्णतामा समेत असर परेको देखिन्छ । जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको नाममा रहेको मायादेवी रंगशाला महत्वपूर्ण खेल मैदान रहेको भए पनि हाल कतैबाट समेत चासो नपुग्दा अलपत्र जस्तै छ । यो रंगशाला राष्ट्रिय स्तरकै रंगशालाको रुपमा सुचिकृत छ । यस रंगशालाको क्षेत्रफल करिब ६ विगाहमा फैलिएको छ । हाल जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको प्रशासनिक भवन समेत यही रहेको छ । उक्त प्रशासनिक भवनको शिलान्यास समितिको अध्यक्ष छवि रेश्मी रहेका बेला प्रदेश सासंद विष्णु पन्थीले गरेका थिए भने उक्त भवनको उद्घाटन तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले गरी जिल्लाको खेलकूदको प्रशासनिक कार्य यसै भवनबाट गर्न समेत निर्देशन दिएका थिए । तर हाल कर्मचारी अभावका कारण यहाँबाट प्रशासनिक कामकाज हुन सकेको छैन ।

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुले पछिल्लो एक दशकको अवधिमा विभिन्न राष्ट्रिय स्तरका खेलकुदका कार्यक्रम समेत गरेको छ । २०७२ सालमा प्रथम कपिलवस्तु राष्ट्रिय हाफ म्याराथन (२१ कि.मि) प्रतियोगिता गरेको थियो । यस्तै २०७५ सालमा राष्ट्रिय रात्रिकालिन भलिवल प्रतियोगिता, २०७६ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता, २०७६ मै राष्ट्रिय कुस्ती प्रतियोगिता गरेको थियो भने खेलकुद मातहतका संघहरुबाट कपिलवस्तु गोल्डकप प्रतियोगिता २०८०, साउथ एसियन कराँते प्रतियोगिता २०८० लगाएत विभिन्न जिल्लागत र प्रदेशका खेल गतिविधि र प्रतियोगिताहरु समेत गरेको छ । २०७६ सालमा नेपाल सरकारबाट कपिलवस्तु जिल्लालाई उत्कृष्ट जिल्लाको अवार्ड समेत पाएको थियो । पछिल्लो समय गाउँ गाउँमा सिंह दरवारको लिएर आएका पालिकाको खेलमा लगानी गरेको लाखौ खर्च यस सन्देशले पालिकाको लगानी वालुवामा पानी हाले सरह भएको छ । यसबाट राष्ट्रका प्रतिभावान खेलाडी मात्र होईन यसका समर्थक र समग्र नेपालीमै निराशा छाएको छ । अझै पनी आ आफ्नो पालिका क्षेत्रका प्रतिभावान खेलाडी पलायन रोक्नत तर्फ लाग्ने हो भने यसले केही हदसम्म सार्थकता पाउने देखिन्छ । यसतर्फ वेलैमा सोच्नु जरुरी छ ।

होईन भने देशका लागि मेडल उठाउने हातहरु अव खाडीमा बेच्चा र मजदुरीका भारी उठाउन बाध्य हुनेछन् । यसबाट खेलाडीको परिभाषा केवल मजदुरमा बदलिने निश्चित छ ।

प्रतिक्रिया