
चुच्चे नक्सासहितको नोट एक वर्षभित्र, दसैँका लागि नयाँ नोट नछापिने : राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बढीमा १ वर्षभित्र बजारमा ल्याउने भएको छ।
बैंकले लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाएको हो।
बैंकका सहप्रवक्ता डिल्लिराम पोखरेलले थोरैमा ६ महिना र धेरैमा १ वर्षभित्र बजारमा चुच्चे नक्सासहितका नोटहरु चलनचल्तीमा ल्याइने बताए।
‘टेन्डर सकिएर छपाइका लागि प्रक्रिया सुरु भइसकेको छ। छिट्टै बजारमा आउँछ’, उनले भने।
त्यसो त यो वर्षको दसैँका लागि बैंकले नयाँ नोट नछाप्ने भएको छ। चुच्चे नक्सासहितको नोट छाप्ने प्रक्रिया अगाडि बढाइसकेको बैंकले दसैँका लागि भने सुकिला नोटहरुको प्रयोगलाई नै जोड दिएको हो।
यसका लागि बैंकहरुले दसैँमा नयाँ नोट सटही गर्नेछैनन्। बरु बैंकबाट सुकिला नोटहरु लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
इन्डोनेसिया, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायतका देशहरुमा नेपालको नोट छापिँदै आएको छ।
राष्ट्र बैंकले सुरुमा १ सय रुपैयाँ दरका नोटहरुमा चुच्चे नक्सासहित छाप्नेछ। एक सय रुपैयाँका नोटहरुको मौज्दात अन्यको तुलनामा कम भएपछि मन्त्रिपरिषदबाटै नयाँ नक्सासहितको नोट छपाइको निर्णय पारित गरिएको थियो।
राष्ट्रबैंकको ऐन २०५८ बमोजिम नोट वा सिक्कामा छापिने चित्र, नक्सा सरकारको अनुमतिमा निर्धारण गर्न पाइने व्यवस्था छ। सोही ऐनअनुसार मन्त्रिपरिषदले यसअघि नै एक सय दरका नयाँ नोटमा चुच्चे नक्सा छाप्ने अनुमति राष्ट्र बैंकलाई दिइसकेको छ।
अनुमति पाएसँगै बैंकले एक सय दरका नोटमा नयाँ नक्सा समावेश गरेर छपाइको काम अगाडि बढाएको हो।
बैंकले कति संख्यामा नयाँ नक्सासहितको नोट बजारमा आउँछ भन्ने खुलाएको छैन। यद्यपि एक सयपछि बैंकले आवश्यकताका आधारमा नोटको चक्रअनुसार नै नयाँ नक्सासहितको नयाँ नोट बजारमा ल्याउने जनाएको छ।
किन महत्त्वपूर्ण छ नयाँ नक्सासहितको नोट?
२०७७ सालमा केपी शर्मा ओलीको सरकारले पहिलो पटक लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो।
नयाँ नक्सा जारी गरेपछि भारतले त्यसयता निरन्तर विरोध जनाउँदै आएको छ। सीमा रहेका दुई क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको भारतले उक्त नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर औपचारिक रुपमै असन्तुष्टि जनाएको थियो।
तर सरकारले संविधान नै संशोधन गरेर नयाँ नक्सा जारी गरेपछि नेपाली नोटहरुमा पनि नयाँ नक्सा राख्नुपर्ने व्यवस्था मन्त्रिपरिषदले गरेको थियो।
सोहीअनुसार मन्त्रिपरिषदको स्वीकृति लिएर राष्ट्र बैंकले नयाँ नक्सासहितको नोट छपाइको काम अगाडि बढाएको थियो। सरकारले नयाँ नक्सा जारी गरेको एक वर्षपछि राष्ट्र बैंकले चुच्चे नक्सासहितका सिक्काहरु बजारमा ल्याउने निर्णय गरेको थियो।
अहिले भने बैंकले एक सय दरका नोटमा नै नयाँ नक्सा राखेर बजारमा ल्याउने भएको हो।
सहप्रवक्ता पोखरेलले नोट छपाइको चक्रअनुसार नै नयाँ नक्सासहितको नोट छपाइको काम अगाडि बढाइएको बताए। टेन्डर सकिएपछि नोट छपाइको कामले गति लिएको हो।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया