अर्घाखाँचीमा ६५ हजारलाई पुनः लालपुर्जा वितरण

२०६१ को आगलागीका कागजात पुनः निर्माण

अर्घाखाँची | अर्घाखाँची जिल्लामा ६५ हजार जग्गाधनीलाई पुनः लालपुर्जा वितरण गरिएको छ। २०६१ सालको फागुन २० गते तत्कालीन नेकपा माओवादीद्वारा सन्धिखर्कमा गरिएको आक्रमणमा नापी र मालपोत कार्यालयका सम्पूर्ण लालपुर्जा र नक्सा जलेर नष्ट भएपछि जग्गा दर्ता र पुनः वितरणको यो प्रक्रिया अघि बढाइएको हो।

विशेष नापी कार्यालयले २०६८ सालमा जिल्लाका सबै जग्गाको पुनः नापजाँच सुरु गरेपछि हालसम्म ६५ हजार थान लालपुर्जा वितरण गरिसकेको प्रमुख डिल्लीराज भण्डारीले जानकारी दिनुभयो। ४७ वटा वडाका नक्सा र फिल्डबुकहरू नापी कार्यालयमा स्रेस्तालगायतका अन्य कागजातको रूपमा हस्तान्तरण गरिएका छन् भने १४ वटा वडामा लालपुर्जा वितरणको काम पूरा भएको छ।

अर्घाखाँचीका ६१ वटै वडामा जग्गा दर्ता र नापजाँच सम्पन्न भइसकेको छ। जिल्लाका तीन नगरपालिका— शीतगङ्गा नगरपालिका–१, २, ३ र १२, भूमिकास्थान नगरपालिका–१, २ र ३, र सन्धिखर्क नगरपालिका–७ र ८ मा स्रेस्ता हस्तान्तरण भइरहेको छ। त्यस्तै, मालारानी गाउँपालिका–५, ८ र ९, छत्रदेव–७ र पाणिनी गाउँपालिका–१ मा पनि स्रेस्ता हस्तान्तरणको प्रक्रिया जारी छ।

हालसम्म केही साबिक नक्सा प्राप्त हुन नसकेको र घरमा आगलागी जस्ता प्रकोपका कारण केही व्यक्तिका प्रमाण नष्ट भएकोले दर्ता कार्यमा कठिनाइ भएको प्रमुख भण्डारीले बताउनुभयो। साथै, लालपुर्जा प्राप्त गरेपछि स्रेस्ता मालपोत र नापीमा जानका लागि १२० दिन कुर्नु पर्ने व्यवस्था रहेको छ, जसका कारण ६० दिनभित्र कुनै उजुरी आएमा कार्यालयले निर्णय दिनुपर्ने व्यवस्था कायम रहेको छ।

प्रतिक्रिया

खबर सबै