खोजिपुर सामुदायिक वन क्षेत्रमा अलपत्र पोखरी : बजेट मात्रै स्वाहा, प्रयोग शुन्य !


साझाकुरा, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवमा एउटा आयोजना निर्माण सम्पन्न भएर पनि प्रयोगविहिन बनेको छ । राष्ट्रपति चुरे तराई मधेस विकास समिति कार्यक्रम कार्यान्वयन इकाई रुपन्देही र जनसहभागितामा निर्माण गरिएको एउटा आयोजना अहिले अलपत्र जस्तै छ ।

वडा नम्बर ९ को खोजिपुर सामुदायिक वन क्षेत्रमा आ. व २०७७/०७८ मा भूमिगत जल पुर्नभरण र सतह मुनिको पानी उपयोग आयोजना अन्र्तगत १७ लाख बढी बजेट खर्च गरी पोखरी निर्माण गरिएको थियो । तर हाल यो पोखरी वर्षायामका बेलामा समेत रित्तो छ । पोखरीमा पानी छैन ।
उपभोक्ता समिति मार्फत निर्माण गरिएको पोखरीको खासगरी भुमिगत पानीलाई पुर्नभरण गर्ने र सतह मुनिको पानीलाई उपयोग गर्ने उद्धेश्य रहेको भएता पनि यो पोखरी निर्माणको बजेट बालुवामा पानी खनाए जस्तै भएको स्थानीयको भनाइ छ । पोखरी निर्माण उपभोक्ता समिति नै पोखरी निर्माणको उद्धेश्यसँग अनभिज्ञ अवस्थामा वन क्षेत्रमा पोखरी बनाइएका कारण प्रयोगमा नआई अहिले भत्किसकेको छ ।
निर्माण गरिएको पोखरीको चारैतर्फ ईटाको पर्खाल लगाएको छ भने पोखरीको मुख्य सतह २५० मटिरको छ । यो आयोजना निर्माण पश्चात सो क्षेत्रका १२ सय बढी जनसंख्या लाभान्वित हुने भनिएको छ । तर यो पोखरीबाट हालसम्म एक जनाले पनि लाभ लिन पाएका छैनन् ।
उपभोक्ता समितिका अध्यक्ष चुरामणी आचार्य रहेको यो निर्माण आयोजनामा राष्ट्रपति चुरे तराई मधेस विकास समिति कार्यक्रम कार्यान्वयन इकाई रुपन्देहीका तर्फबाट १४ लाख ७९ हजार ५ सय ७६ रुपैँया २३ पैसा र जनसहभागिताबाट २ लाख ५९ हजार ४७ रुपैँया १६ पैसा गरी कुल १७ लाख ३८ हजार ६ सय २३ रुपैँया ३९ पैसा बजेट खर्च भएको देखिन्छ । तर लाखौँ रकम खर्च गरी बनाइएको पोखरीको प्रयोग र औचित्य शुन्य हुँदा बजेट मात्रै स्वाहा भएको छ । अहिले यो पोखरी जिर्ण अवस्थामा छ भने थप संरक्षण समेत नहुँदा भत्किने अवस्थामा पुगेको छ ।
बाणगंगाको वडा नम्बर ९ मा यति मात्रै होइन विभिन्न स्थानमा गरी झण्डै दर्जन बढी यस्ता पोखरी खनिएको छ । खनिएका कतिपय पोखरीको प्रभाव राम्रै देखिएको छ भने कतिपय अन्यको अवस्था पनि यस्तै छ । खासगरी सामुदायिक वन क्षेत्र भित्र पर्यावरण संरक्षण र भुमिगत पानीको स्रोत विकासका लागि यस्ता पोखरी बनाउने गरीएको छ । तर वर्षायामका बेलामा समेत पानी नभरिने पोखरी हिउँदको समयमा कुन अवस्थामा हुन्छन सजिलै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया