

बाढीमा बगेर २ जना बेपत्ता, कैलाली र कञ्चनपुरमा धेरै परिवार विस्थापित



काठमाण्डाै | वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतवार बेलुकी त्यही ठाउँका १८ वर्षीय अजय राना बेवेपत्ता हुनुभएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै हिजै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता हुनुभएको छ । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै कैलाली र कञ्चनपुरका विभिन्न नदी र खोलाको जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना निकालेको छ । गाउँमा बाढी पस्दा कैलाली र कञ्चनपुरका ६ सय परिवार प्रभावित भएका छन् ।
यसैबीच जल तथा मौसम विज्ञान विभागको अत्तरियामा रहेको महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यस वर्ष सबैभन्दा बढी वर्षामापन भएको जनाएको छ । महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । धनगढीमा गएको १२ घण्टामा १ सय ८४ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि धेरै वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन कार्यालय प्रमुख सञ्जय साहले आग्रह गर्नुभएको छ ।
अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भू–भागमा रहेका बस्ती डुबानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वसूचना दिने यन्त्र गए रातिको बाढीले बगाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया