

जेठ १३ देखि कपिलवस्तुमा ’आईपीभी’ खोप अभियान



कपिलवस्तु : जेठ १३ गतेदेखि कपिलवस्तुमा बालबालिकालाई पोलियोविरुद्धको ’आईपीभी’ खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत ३१ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकारी दिवाकर महर्जनले बताउनुभएको छ ।
उहाँका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ जेठ देखि २०७५ असोज सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।
नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो । कपिलवस्तुमा जेठ १३ देखि २६ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले खोप लगाउन कपिलवस्तुमा ६९६ वटा खोप केन्द्र निर्धारण गरेको छ ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


प्रतिक्रिया