आईपीएल क्रिकेट : लखनउलाई हराउँदै कोलकाता शीर्ष स्थानमा, चेन्नईले पञ्जावलाई २८ रनले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ ।  चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले  सर्वाधिक ३० रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्  । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

प्रतिक्रिया