भलवाडको कोइली खोलामा बन्न थाल्यो पक्की पुल


साझाकुरा भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली खोलामा मोटरेवल पुल निर्माण सुरु भएको छ । लामो समय देखि यहाँका स्थानीयको माग भए पनि पुल नहुदा हिउँदे सडकको रुपममा मात्र प्रयोगमा आइरहेको बर्दहवा–मोर्मी सडक अब सहज हुने देखिएको हो ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई जोड्ने एक मात्र सडकको रुपमा रहेको बोडगाउँ–मोर्मी– बर्दहवा खण्डको मोर्मी क्षेत्रमा पर्ने कोइली खोलामा गत वर्ष पुल बनेको थियो भने हाल बर्दहवा खण्डको कोइली खोलामा पक्की पुल निर्माण थालिएको छ । पुल बन्न काम सुरु भएसँगै यहाँका स्थानीय पनि खुसी भएका छन् ।

वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक विभाग पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले टेण्डर आह्वान गरी हाल पुल निर्माण समेत कार्य सुरु भएको बताए ।

बाढीगाउँ– जिनुवा सडक बर्दहवा नाम दिइएको उक्त सडकमा रुपन्देहीको बाबुल निर्माण सेवाले ठेक्का पाएपछि काम थालेको हो । सम्झौताको मितिले ३४ महिनामा सम्पन्न गर्ने गरी २१ मंसिर २०८० मा योजना सम्झौता भएको वडा अध्यक्ष पौडेलले साझाकुरासँग बताए । कुल ११० मिटर लम्बाइ रहने पुलको स्पान संख्या ३ वटा रहने छन् भने पुल निर्माण स्थालबाट ४ सय ५० मिटर एप्रोच सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । कुल १७ करोड ३० लाख ३१ हजार रकममा सम्झौता भएको योजनाको २०८० पुषमा योजना स्विकृत भएको थियो ।

बाणगंगा नगरपालिकाको नगर चक्रपथ योजनामा समेत रेखाङ्कन भएको यो सडकमा पर्ने दुबै खोलामा पक्कि पुल बन्ने भएसँगै नगरपालिकाको गौरवको याजना नगर चक्रपथलाई पनि थप टेवा पुगेको छ । यसबाहेक वडा नम्बर ९ सँगै अर्घाखाँचीको सितगंगाबाट कपिलवस्तुको बाणगंगा नगरपालिका र चार नम्बर जितपुरसँग छोटो दुरीको यात्राका लागि समेत नागरिकहरुलाई बाह्रै महिना सहज हुने छ । खोलामा पुल नहुदा अहिले सम्म नागरिकहरु हिउँदे सडकको रुपमा मात्रै यो सडक प्रयोग गर्दै आएका थिए । यस अघि वडा नम्बर ९ को सोझो सम्पर्क वडा नम्बर ७ सँग मात्रै बनिरहेका बेला अव पुल निर्माणको काम थालिएसँगै ८ नम्बर वडासँगको पहुँच समेत सहज हुने भएको छ ।

प्रतिक्रिया