अत्यधिक गर्मीका कारण कपिलवस्तुको जनजीवन प्रभावित

कपिलवस्तु| केही सता यता बिहानैदेखिको चर्काे घाम र तिव्र हावाका कारण कपिलवस्तुसहित तराईको जनजीवन प्रभावित बनेको छ । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण लुम्बिनी प्रदेशमा तराईको जनजीवन प्रभावित बनेको हो । यहाँको तापक्रम दिउसोको समयमा ४१ डिग्री सम्म पुग्ने गरेको छ ।

भैरहवामा तापक्रम बढ्दै गएको छ भने कपिलवस्तुमा पनि सोही तापमान हुने गरेको छ । जसका कारण मानवीय जनजीवन थप कष्टकर बन्दै गएको हो।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका दैनिक गतिविधि प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको तथ्याङ अनुसार पछिल्लो एक साताबाट भैरहवाको तापक्रम नेपालकै उच्च रहेको छ।

विभागको तथ्याङक अनुसार आइतबार साझ ५ बजेर ४५ मिनेटसम्म भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ मापन गरिएको थियो । त्यसयताका दिनमा सोही क्रमको तापमान रहेको छ । जनकपुरको ४१ दशमलव ४, सिमराको ४० दशमलव ३ र विराटनगरकोे ४० दशमलव २ मापन गरिएको छ।

एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू बढी मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ। दिउसोको समयमा बजार क्षेत्र समेत सुनसान बन्ने गरेको छ ।

गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाबमा संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ।

गर्मीका कारण शरीरमा घमौरासहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थयकर्मीहरुको सुझाव छ । निस्किहाल्नुपरेमा पातलो कपडा सरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने, बाहिरी खुला रूपमा राखेका खाना नखाने, खाँदा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

यस्तै यही बेला हावाहुरीसँगै ठाउँठाउँमा आगलागीका घटना समेत भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि चिकित्सकको अनुरोध छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।

प्रतिक्रिया