कपिलवस्तुमा आजदेखि १६औँ चरणको हात्तिपाइले बिरुद्धको औषधि अभियान सुरु

कपिलवस्तु । कपिलवस्तु जिल्लामा आइताबारदेखि हात्तिपाइले रोग बिरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । कपिलवस्तुमा यस अघिका वर्षमा संचालन भएका औषधि सेवन अभियानबाट रोग निर्मूल नभएपछि यसपटक १६औँ चरणको औषधि सेवन अभियान संचालन भएको हो ।

जिल्लाको बाणगंगा नगरपालिकाका सबैजसो वडामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले औषधि सेवन गरी अभियानको सुरुवात गरेका छन् । बाणगंगासहित जिल्लाभर यो अभियान संचालन भएको छ । १५ औं पटक हात्तीपाइले फाईलेरियाको औषधि खुवाउँदा पनि निवारण हुन नसकेपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन सुरु गरिएको हो । बाणगंगामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले हात्तिपाइले विरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका छन् । अभियान सुरु गर्दै सांसद पन्थिले प्रदेशका अन्य ११ वटै जिल्लामा हात्तिपाइले रोगको निवारण हुँदा कपिलवस्तुमा नहुनु लज्जासपद रहेको बताए । विभिन्न कारणले गर्दा केहिले औषधि सेवन नगरिदिदा अभियान सफल हुन नसकेको उनको भनाइ थियो ।

यसपटक नगरपालिका भरी सबै स्वास्थ्य चौकी र टोल टोलमा औषधि खवाइने बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन आजदेखि सुरु भएको छ ।

प्रतिक्रिया