वन क्षेत्रमा ‘एयर ब्लोर’ को प्रयोगले डढेलो नियन्त्रणमा सहज

साझाकुरा, कपिलवस्तु । पछिल्ला वर्ष वनजंगलमा हुने डढेलो नियन्त्रणमा प्रविधिको प्रयोगमा जोड दिन थालिएको छ । यस अघिका वर्षहरुमा स्थानीय नागरिकले जोखिमपूर्ण रुपमा डढेलो नियन्त्रण गर्ने गरेका भए पनि यस वर्ष भने कपिलवस्तुका विभिन्न वनहरुमा एयर ब्लरको प्रयोग गर्न थालिएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वनले यसपटक वन क्षेत्रमा अग्निरेखा कोर्न र वनमा आगलागी भइ हाले सजिलै नियन्त्रण गर्न जर्मन प्रविधिमा निर्माण भएको एयर ब्लर मेसिन खरिद गरेको छ । वनका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार धेरै जनशक्तिमा धेरै समय लगाएर गर्ने काम यो मेसिनले थोरै जनशक्तिको परिचालन गरी छिटो पनि गर्न सकिने भएकाले राम्रो रहेको बताए । सामुदायिक वनले मेसिन खरिद गरी वनमा परिक्षण पनि गरेको भन्दै यो मेसिनको प्रयोगबाट आगो लागि हाले नियन्त्रण गर्न पनि सजिलो हुने र लाग्न नदिन पहिले नै अग्निरेखा कोर्न पनि छिटो हुने भएकाले प्रभावकारी रहेको साझाकुरासँग बताए ।

तस्बिर : वन क्षेत्रमा एयर ब्लोरको परिक्षण गर्दै वन पदाधिकारी र उपभोक्ता

अमृते सामुदायिक वनसहितका यहाँका अन्य वनहरुले समेत वन क्षेत्रमा हुने डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरेका छन् । वडा नम्बमर ९ भर्लाबास स्थित खुतखुुते सामुदायिक वनमा पनि एयर ब्लरको प्रयोग गरी वनमा हुने आगलागी नियन्त्रणको अभ्यास गराइएको छ भने वन उपभोक्ताहरुलाई यसको प्रयोगका बारेमा समेत जानकारी गराइएको छ । वनका अध्यक्ष भिमबहादुर पुनले वडा अध्यक्ष कमल पौडेलसहितको उपस्थितिमा सामुदायिक वनमा सोही उपकरणबाट अग्निरेखा निर्माण र आगलागी नियन्त्रणको अभ्यास गराएका थिए ।

यस्तै कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा पनि अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको छ ।

डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखिएपछि नमुना ल्याएर परीक्षण गरिएको जानकारी दिए। नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ।

एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन बनाउन सकिन्छ। डढेलो लागेपछि नियन्त्रण गर्न प्रयोग हुन्छ। आगोको सानो लप्का भए नजिकै पुगेर र ठुलो लप्का छ भने टाढैबाट ब्लोर चलाएर पात हटाउँदै आगो फैलिनबाट रोक्न सकिने अधिकृत सुवेदीले बताए।

ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङर उडाएर स्थान परिवर्तन गर्छ। डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पात सँगको सम्पर्क विच्छेद गरी आगो फैलिन नदिने सब डिभिजन वन कार्यालय पिपराका प्रमुख विष्णु लामिछानेले जानकारी दिए। कार्यालयले वन उपभोक्ता समितिलाई ब्लोर प्रयोग गर्ने विधि सिकाउँदै आएको छ। अभ्यासमा सहभागीले ब्लोर प्रयोग गरी डढेलो नियन्त्रण गर्दा थप सुरक्षित हुने बताएका छन्।

यस बाहेक वनहरुले अग्नि नियन्त्रणका लागि अन्य सुरक्षात्पक सामाग्रीहरुसहित विभिन्न उपकरणको प्रयोग गर्ने गरेका छन् । जसले गर्दा पनि आगोलागि नियन्त्रणमा केही सहजता भएको छ । हावाहुरीको समयमा कपिलवस्तुका वन क्षेत्रमा आगो अनियन्त्रित हुँदा सयौँ हेक्टर वन क्षेत्र सखाप हुने गरेको छ । यसको नियन्त्रण र रोकथाममा विभिन्न पहलहरु भइरहेको भए पनि आगलागीका घटना भने राखिएका छैनन् ।

प्रतिक्रिया