चिकित्सकहरुको आन्दोलनले कपिलवस्तुमा स्वास्थ्य सेवा प्रभावित

कपिलवस्तु । नेपाल चिकित्सक संघको आह्वानमा देशभर गरिएको स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सवै सेवा भन्द भए पछि कपिलवस्तु अस्पतालमा आएका आम सर्वसाधारण समस्यामा परेका छन् ।

गत बुधवार हेटौडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरहरु माथि भएको कुटपिटको घटनामा संलग्न उपर कारवाहीको माग गर्दै देशभर जस्तै कपिलवस्तु अस्पतालका डाक्टरहरुम पनि आन्दोलनमा उत्रिएका हुन् । डाक्टरहरुको आन्दोलनका कारण विरामीहरुले ओपीडी सेवा, स्वास्थ्य वीमा सेवा लगायतका सेवाहरु पाएका छैनन् ।

अस्पतालमा आउने विरामीहरु स्वास्थ्य सेवा पाउन नसक्दा निराश भई घर फर्केका छन् । नशाको उपचार गर्न अस्पताल आएकी शिवराज नगरपालिका वडा नं. ४ पिपराकी नुरजहां डाक्टरको आन्दोलनका कारण चेकअप नगराई फर्किएकी छिन् ।

यसै गरी कपिलवस्तु नगरपालिका वडा नं. १० का मोहम्मद जाहिर पनि छाती दुख्ने, सुगर बढ्ने र शरीर काप्ने लगायतको समस्याले अस्पताल आएका थिए तर उपचार हुन नसक्दा निराश भएर फर्किएका छन् ।

आन्दोलनका क्रममा डाक्टरहरुले आकस्मिक सेवा बाहेकका सवै सेवाहरु बाध्य भई बन्द गर्नु परेको बताए । ओपीडी सेवा बाहेक आकस्मिक, अपरेशन लगायतका अति आवश्यक स्वास्थ्य सेवाहरु भने प्रवाह गरिएको कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विपीन जयसवालले बताए ।

जिल्लाको महाराजगंज, शिवराज, चन्द्रौटा लगायतका स्थानहरुका स्वास्थ्य संस्थाहरुमा पनि ओपीडी बाहेकका स्वास्थ्य सेवाहरु अवरुद्ध भएको छ ।

प्रतिक्रिया

खबर सबै