

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, सोही दिन पाकिस्तान जाने तयारी

काठमाडौँ
सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ ।
अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ ।
सन्दीपले भने, ‘मलाई दर्ताको किताब शुभचिन्तकले दिएका हुन्’
काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार अदालतले प्रतिवादी सन्दीप लामिछानेसँग पनि पुनः सोधपुछ गरेको छ । लामिछानेले बयानका क्रममा पीडित गौशाला २६ को भनी पेस गरेको जन्म दर्ता किताबको फोटोकपी कहाँबाट प्राप्त गरेको भनी अदालतले लिखितरुपमा सोधेको थियो ।
जवाफमा लामिछानेले उक्त कागजात आफूलाई कुनै शुभेच्छुकले दिएको तर कसले दिएको याद नभएको बयान दिएका छन् । सन्दीपको तर्फबाट अदालतमा पेस भएको जन्मदर्ताको किताबमा पीडित गौशाला २६ को जन्म मिति २०६१ जेठ १८ गते उल्लेख रहेको छ । यद्यपि पीडितको बसाइसराइँ भएको स्थानको स्थानीय तहले भने आफ्नो स्थानीय तहमा त्यस्तो दर्ता किताब नै नरहेको भनी यसअघि नै जवाफ पठाइसकेको छ ।
आइतबार नै लामिछाने पाकिस्तान जाने तयारीमा
यसैबीच प्रतिवादी सन्दीप लामिछानेले सफाई पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा भदौ १० गते आइतबार राति नै पाकिस्तान जाने तयारी गरेका छन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार फैसला भई सफाई पाएमा वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरेका हुन् । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र अदालतसँग कुराकानी भइरहेको छ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया