सर्पले टोक्दा तत्काल के गर्ने ?

कपिलवस्तु। गर्मीयाममा सर्पको टोकाइबाट धेरै जना पीडित भएको देखिन्छ । अझ पहाडी क्षेत्रमा भन्दा तराई(मधेशमा सर्पको टोकाइबाट धेरैले समस्या भोगेका छन् ।

सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइनछ । त्यसमा पनि करेत सर्पले टोक्ने धेरैको मृत्यु नै हुने गरेको छ । किनकि यो सर्पले रातको समयमा टोक्ने भएकाले उपचार अभावमा मृत्यु हुन्छ ।पहाडी क्षेत्रमा भाइपरले धेरै टोक्छ । यसले मानिसको मृत्यु नै हुनेभन्दा पनि घाइते भने धेरैलाई बनाएको छ । गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ । भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने र हातखुट्टा काट्नुपर्ने वा अंगभंग हुने जोखिम बढी हुन्छ । नेपालको तराई क्षेत्र सर्पदंशको जोखिम भएको क्षेत्र हो । जहाँ हरेक वर्ष दर्जनौले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।धेरैजसो मानिसहरुलाई सर्पले टोक्दा के गर्ने भन्ने कुरा थाहा नै हुँदैन । जसका कारण उपचार नपाएर सावधानी अपनाउन नसकेकाले तथा विषालु सर्पको डसाइका कारण क्षणभरमै ज्यान समेत जाने गर्दछ । सर्पले डसेपछि तत्काल के गर्न सकिन्छ र तराईमा कस्ता सर्पको डसाइ बढी हुने गरेको छ लगाएतका विषयमा कपिलवस्तु सर्प दंश उपाचर केन्द्रका व्यवस्थापक नविन भण्डारी सँग गरिएको कुराकानीको संपादित अंश ।

कपिलवस्तुसहित तराईमा कस्ता सर्पको टोकाइका घटना बढी छन ?

सर्पदंश उपचार केन्द्र गोरुसिँगेमा प्राय आउने भनेको गोमन र करेत सर्पको टोकाइ हो । अनि कुन सर्पले टोकेको हो भन्ने थाहा नभएका पनि धेरै हुने गर्दछ । कतिपय अवस्थामा अवस्थामा गोमन र करेत सर्पले डसे पनि भेनम छोड्न पाउँदैन । त्यस्तो केस बढी आउने गर्दछ ।

सर्पले टोकेको कसरी थाहा पाउन सकिन्छ ?

नेपालमा सामान्यतया कोब्रा र क्रेट प्रजातिका सर्पको टोकाइबाट न्युरोपरालाइसिस हुने र मानिसको मुत्यु हुने गर्दछ । अस्पतालमा आकस्मिक क्लिनिकल मूल्याङ्कन र पुनरुत्थानबाट एन्टिभेनमको प्रयोगसँगै श्वासप्रश्वासको व्यवस्थापन तुरुन्तै गरिन्छ । जसले गर्दा हस्पिटलमा उपचार सुरक्षित हुने गर्छ ।
अहिले प्राय घटना कस्तो छ भने आम मानिसमा चेतना नहुदा विषेश गरी बालवालिका परिरहेका छन् । राति सुतिरहेको अवस्थामा करेत सर्पले डसेको थाहा नपाउने जस्ता घटना हुने गर्दछन् । केही लक्षणहरु जस्तो टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो भयो भने तत्काल सर्पदंश उपचार केन्द्रमा जान सुझाव दिन्छु । करेत सर्पले प्राय रातिको समयमा बिस्तारामा सुतेको समयमा टोक्ने भएकाले केही मानिसहरुले यसलाई वेवास्था गर्दा मृत्यु हुने गरेको छ ।

घटना स्थलमै गर्न सकिने प्राथमिक उपचार के हुन सक्छ ?

जस्तोसुकै सर्पले टोक्दा पनि सबैभन्दा पहिला पीडितलाई उपचार नै हो । नजिकमा जे छ त्यही साधनको प्रयोग गर्ने र उपचार केन्द्रमा जाने नै हो । सर्पले डसेको अंगमा सामान्य व्याण्डेज गरेर उपचार केन्द्र सम्म आउनु पर्छ । धेरै स्थानमा द्रुत यातायातको अभावले टोकाईबाट हुने विषाक्त श्वासप्रश्वास पक्षघातका कारण मृत्यु हुने देशमा सामान्य कारण जस्तो देखिन्छ । त्यसैले मृत्युको जोखिम कम गर्न छिटो भन्दा छिटो अस्पताल लैजानुपर्छ ।

कपडाले वा डोरिले बाध्नु कति प्रभावकारी उपाय हो ?

सर्प समाजसँग जोडिएको पात्र भएको र यसले जानेर बुझेर कसैलाई प्रभाव नपार्ने हुन्छ । सर्पले टोकेपछि सबैभन्दा पहिलो काम भनेको त उपचारका लागि नजिक रहेको उपचार केन्द्रमा नै जाने हो । हाम्रो समाजमा धेरै अन्धविश्वासका कारण पनि सर्पको टोकाइले धेरैको ज्यान जाने गरको पाइन्छ । कतिपय अवस्थामा धेरै मानिसका धेरै कुरा देख्न पाइन्छ । मुखले चुसेर बिष निकाल्ने, ब्लड सर्कुलेसन नै बन्द हुने गरी अंगहरु डोरी बाधेर आउने, कुखुराको मलद्धारबाट विष निकाल्ने भन्ने, यस्ता विधिहरु र झारफुक गर्ने भन्ने अन्धविश्वास समाजमा व्याप्त छ । यो गलत हो । यसको पछि लाग्ने समयमा सर्प दंश उपचार केन्द्रमा पुग्नुपर्छ ।

सर्पले टोकेपछि केही खान हुन्न भन्ने छ नी किन हो ?

सर्पले टोकेको अवस्थामा बिरामीलाई केही पनि खान नदिनु उत्तम हुन्छ । तर कतिपय मानिसहरुले खुर्सानिले बिष काट्छ भनेर खुर्सानी खान दिने गरेको पनि पाइएको छ । तर यस्तो गर्नु गलत हो । यसले उपचारमा बाध पुर्याउँछ । त्यसैले केही पनि नखाइ सोझै उपचारका लागि उपचार केन्द्रमा जान सुझाव छ ।

सर्प चिसो रगत भएको जनावरमा पर्छ । जसका कारण जाडो मौसममा आफ्नो शरीरलाई वातावरणको तापक्रम अनुकूल बनाउन हाइबरनेशनमा जाने गर्छ । त्यो भनेको जाडाको मौसममा जमिन बस्नु हो ।

प्रतिक्रिया