तानसेन नगरपालिकाभित्रका तीन विद्यालय गाभियो, ११ विद्यालयका कक्षा कटौती

तानसेन नगरपालिका–८, मदनपोखरास्थित कलंकी प्राथमिक विद्यालयमा चार शिक्षक/कर्मचारी र सात विद्यार्थी थिए । कक्षा एकमा तीन, दुई र तीनमा दुई/दुई जना विद्यार्थी भएको यस विद्यालयमा बालविकास कक्षामा तीन जना थिए ।

वार्षिक परीक्षामा सम्मिलित विद्यार्थी संख्या कम भएपछि विद्यालय समायोजनमा परेको छ । नजिकको शारदा माविमा विद्यालय समायोजना भएको तानसेन नगरपालिकाले जनाएको छ ।

शिक्षक दुई, बालविकास कक्षा र कार्यालय कर्मचारीको व्यवस्थापनको काम भइरहेको छ । बालविकास कक्षा भने मातृ विद्यालयको रेखदेखमा सोही स्थानमै राख्ने सहमति भएको नगरपालिका शिक्षा शाखाकी लक्ष्मी ढुंगानाले बताइन् । तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित भैरव प्राविमा कक्षा १ मा तीन, दुई, तीन र पाँचमा शुन्य र ४ मा एक जना विद्यार्थी थिए । दुर्ई शिक्षक र एक जना कर्मचारी रहेको यस विद्यालय तानसेन नगरपालिका–५ स्थित लक्ष्मी माविमा समायोजन गरिएको छ ।

कलंकी र भैरव मात्र होइन तानसेन नगरपालिका–१४, अर्गलीस्थित रुरुक्षेत्र प्राविलाई अमर प्रावि कुसेनीमा समायोजन गरिएको छ । यहाँ कक्षा १ मा ६, २ मा ३, ३ मा ५ जना विद्यार्थी थिए । यहाँ दुई शिक्षक र एक कर्मचारी थिए । स्थानीयले बालविकास कक्षा सञ्चालनका लागि माग गरेको नगरपालिका शिक्षा शाखाकी ढुंगानाले बताइन् ।

नगरपालिकाले ११ विद्यालयको कक्षा कटौती गरेको छ । चालु शैक्षिक सत्रदेखि लागू हुने गरी नगरपालिकाले विद्यार्थीको संख्या न्यून भएका विद्यालयहरूको समायोजन गरेको हो । विद्यार्थी संख्या घट्दै गएका केही विद्यालयको कक्षा कटौतीसमेत गरेको नगरप्रवक्ता यादवसिंह कार्कीले बताए । नगरपालिकाले विद्यालय समायोजन, कक्षा कटौती, एकीकरण तथा दरबन्दी मिलान प्राविधिक समिति निर्माण गरेको थियो । जसको संयोजक नगरप्रवक्ता यादवसिंह कार्की थिए । सदस्यहरुमा शिक्षक महासंघबाट कृष्ण थापा, शिक्षक संगठनबाट मोहन सापकोटा, शिक्षक संघबाट धनकला गाहा, शिक्षा समितिबाट शंकर पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट बासुदेव अर्याल थिए ।

‘नगरपालिकाले निश्चित मापदण्ड तयार गरेको छ,’ नगरप्रवक्ता यादवसिंह कार्कीले भने, ‘सोही अनुसार विद्यालयमा समायोजन र कक्षा कटौती गरेको हो ।’ उनका अनुसार विद्यार्थी संख्या र भौगोलिक अवस्था हेरेर विद्यालयको समायोजन गरिएको हो । तानसेन नगरपालिकाले प्रतिकक्षा पाँच जना विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गरेको छ । कक्षा कटौतीमा भने कक्षा ५ सम्म प्रतिकक्षा पाँच जना, कक्षा ६, ७ र ८ मा प्रतिकक्षा ८ हुनुपर्ने छ । साथै कक्षा ९, १०, ११, १२ मा प्रतिकक्षा १० देखि १२ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयको कक्षा कटौती गरेको नगरप्रवक्ता कार्कीले बताए ।

केही विद्यालयलाई भने भौगोलिक अवस्था हेरेर पनि समायोजन तथा कक्षा कटौती गरिएको छैन । तानसेन नगरपालिका–१२, बौघापोखराथोकस्थित नामीकुवा आधारभूत विद्यालयको कक्षा ६ र ७ कटौती गरिएको छ । तानसेन नगरपालिका–५, धरमपानीस्थित जनहित प्राथमिक विद्यालयको कक्षा ४ र ५ कटौती भएको छ । यहाँ बालविकास कक्षादेखि कक्षा ३ सम्म कायम भएको छ ।

तानसेन नगरपालिका–५ कै बालकल्याण प्राथमिक विद्यालयको कक्षा २ र ३ कटौती गरिएको छ । यहाँ बालकक्षा र कक्षा १ मात्र सञ्चालन हुने नगरप्रवक्ता कार्कीले बताए । तानसेन नगरपालिका–५ कै जनआधारभूत विद्यालयको कक्षा ७ र ८ कटौती गरिएको छ । यहाँ बालविकास केन्द्रदेखि कक्षा ६ सम्म सञ्चालन हुनेछ । वडाध्यक्ष रामबहादुर रावलका अनुसार विद्यालयमा विद्यार्थी संख्या थोरै नै भएकाहरुको कक्षा कटौती गरिएको हो ।

तानसेन नगरपालिका–११, बन्दीपोखराको चण्डिका प्राथमिक विद्यालयको कक्षा २, ३, ४ र ५ कटौती गरिएको छ । यहाँ बालविकासदेखि कक्षा १ सम्म मात्र सञ्चालन गरिनेछ । तानसेन नगरपालिका–१२, बौघापोखराथोकस्थित सरस्वतीनाथ प्राथमिक विद्यालयको कक्षा २ र ३ कटौती भएको छ । यहाँ पनि बालविकास केन्द्रदेखि कक्षा १ सम्म मात्र सञ्चालन हुने तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिका–१४, अर्गलीको अमर भगवती आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ कटौती गरिएको छ । यहाँ बालविकास केन्द्रदेखि कक्षा ५ सम्म मात्र सञ्चालन हुनेछ । तानसेन नगरपालिका–९, मदनपोखरास्थित बालकृष्ण प्राथमिक विद्यालयको कक्षा ४ र ५ कटौती गरिएको छ । चालु आर्थिक वर्षमा बालविकास केन्द्रदेखि कक्षा ३ सम्म मात्र सञ्चालन भएको छ ।

तानसेन नगरपालिका–१४, अर्गलीस्थित कृष्ण प्राथमिक विद्यालयको कक्षा ४ र ५, अमर प्राथमिक विद्यालयको कक्षा ४ र ५ कटौती गरेर बालविकास केन्द्रदेखि कक्षा ३ सम्म सञ्चालन हुनेछ । तानसेन नगरपालिका–१४, अर्गलीकै ज्ञानोदय प्राथमिक विद्यालयको कक्षा २, ३, ४ र ५ कटौतीमा परेको छ । यहाँ बालविकासदेखि कक्षा १ सम्म मात्र सञ्चालन हुनेछ । कक्षा कटौती र समायोजनपछि २० जना शिक्षक तानसेन नगरपालिकाको पुलमा आएका छन् ।

‘कार्यपालिका र शिक्षा समितिको बैठक बसेर यस विषयमा छिटै टुंगोमा पुगिनेछ,’ नगर प्रवक्ता कार्कीले भने । नगरपालिकाले विद्यालय समायोजन र कक्षा कटौती गर्दा असर पर्ने विद्यार्थीका लागि आवश्यक यातायात सुविधा तथा अन्य सुविधाका विषयमा के गर्ने भन्ने छलफल भइरहेको उनले बताए । विद्यालय समायोजन र कक्षा कटौतीले राज्यको अनावश्यक खर्च बचत हुने विश्वास नगरपालिकाको रहेको छ । तानसेन नगरपालिकाभित्र गत शैक्षिक वर्षमा सामुदायिक ५३ र संस्थागत २१ गरी ७४ विद्यालय थिए ।

नगरपालिकाभित्र आधारभूत कक्षा १ देखि ३ सञ्चालन भएका १० र संस्थागत दुई वटा छन् । आधारभूत १ देखि ५ सञ्चालन भएका सामुदायिक १६ र संस्थागत तीन वटा छन् । आधारभूत विद्यालय १ देखि ८ सञ्चालन ८ र संस्थागत एक मात्र छ । १ देखि १० सञ्चालन भएका ५ र मावि कक्षा १ देखि १२ सञ्चालन भएका १३ सामुदायिक विद्यालय छन् । संस्थागत १ देखि १० सम्मका ९ र संस्थागत विद्यालय १ देखि १२ सञ्चालन भएका ६ वटा रहेको छ । धार्मिक विद्यालय १ देखि ५ सञ्चालन भएको एक वटा छ । गतवर्षको वार्षिक परीक्षामा सम्मिलित सामुदायिक विद्यालय तर्फ विद्यार्थी संख्या सामुदायिकतर्फ बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म ८ हजार १ सय २८ रहेको शिक्षा शाखाले जनाएको छ ।

स्राेतः कान्तिपुर

प्रतिक्रिया