गर्मीसँगै तातो हावाको असर, कपिलवस्तुका अस्पतालमा बढे भाइरल ज्वरोका बिरामी

राजेन्द्र खनाल, कपिलवस्तु ।

पछिल्लो एक साता यता कपिलवस्तु सहित तराईमा गर्मी ह्वात्तै बढेको छ । अझ दिउसोको समयमा चर्को घाम र तातो हावा चलेका कारण जनजीवन प्रभावित समेत भइरहेको छ ।

दिउसोको समयमा बजार क्षेत्रहरु साविकको समयमा भन्दा चहलपहल समेत घटेको छ । गर्मी अझै बढ्ने अनुमान भइरहेका बेला यतिबेला कपिलवस्तुका विभिन्न अस्पतालहरुमा समेत बिरामीको चाप अन्य समयमा भन्दा बढेको पाइएको छ । कपिलवस्तु सामुदायिक अस्पताल इमरजेन्सी फाँटका प्रमूख डा। रबिन्द्र श्रेष्ठका अनुसार पछिल्लो केही दिन यता अस्पतालमा मौसमी बिरामीको संख्या बढेको छ । यहाँ उपचार गराउन आउने बिरामीहरुका विशेष गरी भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । कपिलवस्तु सामुदायिक अस्पतालले इमरजेन्सी र ओपिडी फाँँटमा गरी दैनिक ७० जनाको हाराहारीमा बिरामीको उपचार गरिरहेको जनाएको छ । यो सामान्य समयको भन्दा बढी हो ।

यस्तै जिल्ला अस्पताल तौलिहवामा पछिल्लो एक साता यता नियमित भन्दा २० प्रतिशतले बिरामीको संख्या बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। किशोर बन्जाडेले अस्पतालमा बालवालिका र बृद्धवृद्धाहरुको संख्या अहिले बढेको जानकारी दिनुभयो। घाटी दुख्ने, जिउ दुख्ने, डिहाड्रेसन जस्ता समस्याका बिरामीहरु अहिले उपचारका लागि आउने गरेको डा। बन्जाडेको भनाई छ ।
यस बाहेक कपिलवस्तुका निजि मेडिकल तथा क्लिनिकहरुमा समेत बिरामीको चाप बढी छ । गर्मीका कारण टाउको दुख्ने, आँखा दुख्ने, हाडजोर्नी दुख्ने जस्ता समस्या बढी देखिने गर्दछन् भने भाइरल ज्वरो यो मौसमको प्रमूख समस्याको रुपमा रहेको छ । विशेष गरी विद्यालय उमेरका बालवालिका र बृद्धबृद्धाहरुलाई भाइरल ज्वरोले बढी सताउने गरेको पाइएको चिकित्सकहरुले बताएका छन् ।

कपिलवस्तुको चार नम्बर जितपुर स्थित चन्द पोलिक्लिनिकका डा। दिपेन्द्र चन्दका अनुसार अरु बेला भन्दा अहिले ज्वरो र पखला लागेको समस्या भएका बिरामीहरु आफुकहाँ बढी आएको बताउनु भयो । उँहाका अनुसार यो समस्या खास अहिले दिउसोको समयमा हुने तातो हावा र चर्को गर्मीका कारणले नै भएको हो । यसबाट बच्नका लागि विशेष गरी झोलिलो पदार्थ बढी खाने र प्रशस्त पानी पिउनु पर्छ ।

उता जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेन डा। किशोर बन्जाडेले गर्मी बढ्दो क्रममा रहेकाले यो बेला सामान्य अवस्थामा भन्दा बढी सचेत रहनुपर्ने सुझाव दिनुभएको छ । खासगरी गर्मीको समय पनि बढ्दो रहेकाले शरीरलाई पानीको मात्रा बढी चाहिने भएकाले शुद्ध पानी पिउनुपर्ने, समयमा खाना खाने, दैनिक सरसफाइमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
यो बेलामा रुघा खोकी र ज्वरोको संक्रमण बढी हुने भएकाले आफूखुसी औषधिको सेवन नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । चिकित्सकको सल्लाह लिएर मात्रै औषधी सेवन गर्न पनि डा। बन्जाडेको सुझाव छ ।
यस्तै यता गर्मीसँगै यो समय डेगु संक्रमणको जोखिमको समय पनि हो । यो बेला लुम्बिनी प्रदेशका पश्चिमका जिल्लामा यो वर्ष डेँगुको संक्रमण बढीरहेका बेला कपिलवस्तुमा भने अझै पुष्टी नभएको जनाइएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले यो समय अब डेँगु संक्रमणको जोखिमको समय पनि सुरु भएकाले सचेत हुनुपर्ने बताउनुभयो । तर अझै यहाँ संक्रमण फेला नपरेको उहाँको भनाई छ । नगरपालिका भित्र गत वर्षको डेँगुको प्रभाव कायमै रहेका कारण यो वर्ष पनि त्यसको असर देखा पर्ने आँकलनका साथ नगरपालिकाले पूर्व तयारी गरिरहेको पनि पौडेलले बताउनुभयो । डेँगु परिक्षणका लागि आवश्यक किट तथा सचेतना अभियान र डेँगु नियन्त्रणका लागि नगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया