

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण



काठमाडौं
स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ ९२० का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचनको स्थिर अवधि सुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । त्यस्तै, प्यूठान जिल्लाबाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे)लाई रु दुई हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको विषयमा आयोगले थापासँग स्पष्टीकरण मागेको हो ।
आयोगले सहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहलाई पनि स्पष्टीकरण सोधेको छ । सचिव सिंहले दाङ गएर मतदाता प्रभावित गर्ने गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको छ ।
नगरपालिकाले गत भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सुदर्शन बस्नेत, धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छापूर्ण राई र किरण घिमिरे, डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको तथा चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमार्फत उजुरी परेको थियो ।
आयोगले इन्द्रसरोवर गाउँपालिका–४, मकवानपुरको पञ्चकन्या माविका शिक्षक ऋषि पुडासैनीलाई पनि स्पष्टीकरण सोधेको छ । पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुस र प्रचारप्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
त्यसैगरी आयोगले आज नै गण्डकी प्रदेशसभा सदस्य मनाङ ९२० का उम्मेदवार एवं गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई रु २५ हजार जरिवानासमेत गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ।।३० लाखमा नेपालमा चुनाव जित्छ यार ।’
मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो । गुरुङले एक अन्तर्वार्ताका क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्न माध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँका खिलराज सापकोटा, पशुपति आधारभूत विद्यालय सुनकोसी गाउँपालिका–५, मुल्कोट, सिन्धुलीकी निर्मला श्रेष्ठ, मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलगायतलाई स्ष्टीकरण सोधेको थियो ।
त्यस्तै, कात्तिक ३० गते खिजिदेम्बा गाउँपालिका–७ ओखलढुङ्गाको हिमगङ्गा माविका शिक्षक रामकुमार बस्नेत, नेपाल कमर्स क्याम्पस मीनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलगायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।
यसैबीच, निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा आचारसंहिता उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । शुक्रबार बर्दिया, सङ्खुवासभा र पश्चिम नवलपरासी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा कञ्चनपुर, प्युठान, मुस्ताङ, नुवाकोट र दार्चुलाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापविरुद्ध आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिएको हो ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेओइसी० मार्फत प्राप्त भएको सूचनाका आधारमा ती स्थानका अधिकारीहरूलाई आयोगले निर्देशन दिएको जनाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झन्डा तोरण टाँसेको पाइएको, प्युठानमा पालिकाका पदाधिकारीहरूले आफ्नो पालिकाभित्र गठबन्धनका तर्फबाट प्रचारप्रसारमा संलग्न भएको, बर्दियामा जिल्लाभित्र विद्यालयतर्फका मतदानमा खटिएका छ जनालाई सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका कार्यहरू गरेको जानकारी जोओइसीले आयोगलाई गराएको थियो ।
त्यस्तै, पश्चिम नवलपरासीको बाक्वाणी मावि सुनवल (ख) केन्द्रका मतदान अधिकृतले आचरण विपरीत मादक पदार्थ सेवन गरेको, मुस्ताङमा जिल्लाभित्र केही स्थानमा पर्चा पम्प्लेट टाँस गरेको, नुवाकोटको लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकाको अनुगमन गर्दा केही स्थानमा ब्यानर, फ्लेक्स र झन्डाहरू लगायतका प्रचारप्रसारका सामग्रीहरू देखिएको, सङ्खुवासभाका मतदान अधिकृतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको दार्चुलाको महाकाली नगरपालिका–४ खलङ्गामा नेकपा (एमाले)द्वारा मोटरसाइकल ¥याली आयोजना गरिएकोलगायत सूचना आयोगलाई प्राप्त भएको थियो ।
आयोगले यस्ता गतिविधिमा संलग्नलाई कानूनअनुसार आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया