मोतिपुर स्वास्थ्य चौकीद्धारा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेँगु रोगको प्रकोप फैलिएपछि नगर स्तरीय लार्भा नष्ट गर्ने अभियान चलाइएको छ । नगरका सबैजसो वडामा रहेका स्वास्थ्य चौकीको माध्यमबाट सरोकारवाला निकायलाई सहभागि गराई साप्ताहिक कार्यक्रम अन्र्तगत लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाइएको हो ।

केही वडामा आइतबार देखि नै अभियान जारी गरिएको छ भने बाणगंगा ८ स्थित मोतिपुर स्वास्थ्य चौकीले मंगलबार देखि अभियान थालेको छ । स्वास्थ्यचौकी मातहत रहेका महिला स्वास्थ्य स्वयमसेवीका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा पत्रकारहरुका बिचमा अभिमुखिकरण गरी डेँगु फैलाउने लामखुट्टको लार्भा नष्ट गर्न सम्भावित स्थानहरुको खोजी गरी निरिक्षण समेत गरिएको छ ।

स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले गाडीका काम नलाग्ने टायर, खाली ड्रम, खुल्ला छोडिएका ट्याङ्की, फुलदानी, गमला, जस्ता ठाउँमा डेँगु सार्ने लामखुट्टेले अण्डा पार्ने र त्यहीबाट डेँगु सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यस्ता वस्तु र ठाउँहरु कम्तिमा हप्तामा एक पटक सफा गरिराख्न आग्रह गर्नुभयो ।

यस्तै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले पहिला आफू र आफ्नो घरवरपरको वातावरण सफा राख्ने अभियान अन्र्तगत सचेतना फैलाउनु नै डेँगु रोकथामको पहिलो उपाय रहेको बताउनुभयो ।

यसैबीच अभिमुखिकरण पश्चात स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेवीका, जनप्रतिधि, पत्रकार सहितको टोलीले चप्परगाउँका केही क्षेत्रमा निरिक्षण समेत गरेको छ । निरिक्षणका क्रममा विशेष गरी गाडीका काम नालाग्ने गरी राखिएका टायरमा जमेको पानीमा लामखुट्टेका लार्भा भेटिएको स्वास्थ्य चौकी प्रमूख घिमिरेले बताउनुभयो । त्यस्ता स्थानहरुलाई तुरुन्त सरफाई गरी राख्न सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य चौकीले यो अभियान सबैजसो टोलमा संचालन गर्ने जनाएको छ । यस्तै नागरिकहरुमा जनचेतना जागृत गरी उनीहरुलाई सचेत बनाउन डेँगु रोग विरुद्ध कार्यक्रम गरिने जनाइएको छ ।

सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अर्यालको अध्यक्षता सहित वडा नम्बर ८ का वडा सदस्यहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयमसेवीका, स्वास्थ्यकर्मी, पत्रकार लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

खबर सबै