कपिलवस्तुमा भाइरल ज्वरो र डेँगु संक्रमण उच्च, पालिका र स्वास्थ्य कार्यालय भने बेखबर

राजेन्द्र खनाल, जितपुर । कपिलवस्तुको बाणगंगामा पछिल्लो केही दिन यता भाइरल ज्वरोका बिरामी बढेका छन् । यसको प्रत्यक्ष असर विद्यालय उमेरका बालवालिकामा देखा पर्ने गरेको छ । बाणगंगा नगरपालिका सहित जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालवालिकाहरुमा भाइरल ज्वरो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति समेत अहिले घटेको छ ।

अधिकाशं विद्यालयहरुले ज्वरो आएर पनि विद्यालयमा आउने विद्यार्थीहरुलाई उपचार तथा आरामका लागि घर पठाउने गरेका छन् । दैनिक दर्जन बढी बालवालिकामा ज्वरो, रुघाखोकी लगाएतका लक्षण देखिने गरेको विद्यालयहरुले जनाएका छन् ।

यस्तै यहिबेला जिल्लाका अस्पताल तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामीको संख्यामा बृद्धी भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा हाल दैनिक १० देखि १५ जना बिरामी इमर्जेन्सी शाखामा मात्रै उपचारका लागि आउने गरेको चिकित्सक समिक्षा सेनले बताउनुभयो । यस बाहेक सोही अस्पतालको ओपिडि शाखामा नियमित यो भन्दा बढी बिरामी आउने गरेका छन् । सेनका अनुसार ५ जना बिरामीमा चेकजाँच गर्दा २ जनामा डेँगु समेत पुष्टि हुने गरेको छ । यो आँकडालाई हेर्दा बाणगंगाको कपिलवस्तु सामुदायिक अवस्पतालमा मात्रै भाइरल ज्वरो र डेँगुका बिरामीको संख्या उच्च छ । यसको प्रभाव कपिलवस्तु जिल्ला भर परेको देखिएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार ज्वरोका बिरामी सबैभन्दा बढी बालवालिका उपचारका लागि आउने गरेका छन् ।

यस बाहेक कपिलवस्तुका निजी स्वास्थ्य क्लिनिकहरुमा समेत दैनि भाइरल ज्वरो र डेँगुका बिरामीको दर उच्च रुपमा पुष्टी हुने गरेको छ । बाणगंगाको जितपुरमा रहेको चन्द पोलि क्लिनिकमा मात्रै दैनिक दैनिक २५ देखि ३० जना ज्वरोका बिरामीको उपचार हुने गरेको छ । अस्पतालका प्रमूख डा. दिपेन्द्र चन्दका अनुसार दैनिक ६० देखि ७० जना बिरामीको ओपिडिमा चेकजाँच हुन्छ । यसमा सरदरमा २५ देखि ३० जना बिरामी भाइरल ज्वरो र डेँगुका हुने गरेका छन् । “ज्वरोमा पनि बालवालिकाको संख्या बढी छ, डा.चन्दले भन्नुभयो, डेँगु भने बालवालिका भन्दा वयस्क उमेरका मानिसहरुमा बढी देखिएको छ ।”

यता नगरपालिकाको तथ्याङ्कमा भने जम्मा पाँच जना बिरामीमा मात्र डेँगु पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलका अनुसार हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कलाई आधार मानिएको र त्यो अनुसार कपिलवस्तुमा पाँच जना बिरामी डेँगुका छन् । बाणंगामा डेँगुका बिरामी बढी भएको तथ्याङ्क हामीले दिएपछि भने नगर स्वास्थ्य शाखा प्रमूख पौडेलले संक्रमित बिरामीको संख्याबारे आफुले अध्ययन गर्ने र नगरपालिकाबाट कार्यक्रम बनाउने पनि पौडेलले बताउनुभयो ।

यस्तै बाणगंगाको पिपरा स्थित पिपरा अस्पतालमा मात्रै साउन महिनाभरिमा ८ जनामा डेँगु पुष्टी भएको छ । अहिले दैनिक अस्पतालमा ४० प्रतिशत बिरामी भाइरल ज्वरोसँग सम्बन्धित रोगको उपचारका लागी आउने गरेको अस्पतालका प्रमूख डा. आनन्द अधिकारीले बताउनुभयो । यस्तै यो अस्पतालमा कोरोनाका बिरामी समेत दैनिक पुष्टी हुने गरेका छन् ।

तर यता जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा भने कपिलवस्तुमा एक जना पनि डेँगुका बिरामी छैनन् । जिल्लाका सरकारी अस्पतालहरुले डेँगु पुष्टि भएकाहरुको विवरण सम्बन्धित पालिकाको स्वास्थ्य शाखालाई नदिएका कारण जिल्ला स्वास्थ्य कर्यालयले विवरण नपाएको स्वास्थ्य कार्यालयका प्रमूख हेमराज पाण्डेले बताउनुभयो । अस्पतालले पालिकालाई जानकारी दिने र पालिकाले स्वास्थ्य कार्यालयमा विवरण बुझाउने प्रक्रियामा तथ्याङ्क नै अपडेट नभएको पाइएको हो । तर कपिलवस्तुमा हामीले गरीएको प्रारम्भिक अध्ययनमा नै दैनिक भाइरल ज्वरो सँगै डेँगु समेत पुष्टि हुने गरेको पाइएको छ ।

सामान्यतय यस अघिका वर्षहरुमा भदौ महिना लागेपछि अस्पतालमा भाइरल ज्वरो र डेँगुका बिरामी बढ्ने गरेकोमा यस वर्ष भने साउन पहिलो साता बाटै बिरामीको संख्या अपत्यारिलो किसिमले बढेको छ । जसका कराण भदौ महिनामा पनि यो क्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

खबर सबै