

धारा छन्, पानी आउँदैन


दोलखा — खानेपानी योजना निर्माण थालिएको १५ वर्ष बित्यो । टोलटोलमा बनाइएका धारामा अझै पानी झरेको छैन । निर्माण सकिएका २ वटा ट्यांकी खण्डहर बनेका छन् । स्थानीय भने घण्टौं हिँडेर पानी लिन जानुपर्ने बाध्यतामा छन् ।

२०६४ सालमा सर्भे भएर मेलुङ गाउँपालिका–१ घ्याङखोलामा दियालेखर्क खानेपानी योजना निर्माण थालिएको हो । कुल लागत एक करोड ३४ लाख ७२ हजार रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ७१ लाख खर्च भइसकेको छ । बर्सेनि मर्मतका नाममा रकम विनियोजन पनि भइरहेकै छ । चालु आवमा पनि उक्त शीर्षकमा १० लाख रुपैयाँ वाग्मती प्रदेश सरकारले पठाएको थियो ।
‘उ बेलामा टोलमै खानेपानी आउने भयो भनेर खुसी लागेको थियो,’ स्थानीय चेतबहादुर विकले भने, ‘तर यत्रो वर्ष आशमै बित्यो । पाइप पनि आएको सुनेको हो तर कता छ थाहा भएन । टाँठाबाठाको घरमा पुग्यो होला ।’ उनले रकम अनियमितता भएको आरोपसमेत लगाए ।
२०४८ सालमा सोही मुहानबाट पानी ल्याएर वितरण गरिएको छरछरे खानेपानी योजनाका संरचना, पाइप र ट्यांकी अझै छन् । उक्त योजनाको इन्टेक र पाइप फेरबदल गर्न भन्दै अर्को नाममा योजना बनाएर उपभोक्ता समिति बनाइएको थियो । जसलाई दियालेखर्क खानेपानी योजना उपभोक्ता समिति भनियो । २०६४ सालमा सर्भे गर्दा उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर कार्की थिए । योजनामा रकम परेपछि उनलाई समितिबाट निकालियो । ‘सुरुमा ४०/४२ लाख रुपैयाँ आएको थाहा छ,’ उनले भने, ‘तर त्यो रकमले के गरे पत्तो छैन । काम गर्ने बेला नेतृत्वमा नरहेकाले मलाई जानकारी छैन ।’ टोलटोलमा बनेका धारा पनि गैरसरकारी संस्थाले बनाएका उनले दाबी गरे । ती धाराबाट पनि पानी झरेको छैन ।
विगतमा बनाएका संरचना बाढीले बगाएका कारण अहिले ट्यांकी र १० धारा बनाइरहेको उपभोक्ता समितिका कोषाध्यक्ष हरिबहादुर पाण्डेले बताए । विगतको समितिले ५०/५५ लाख रुपैयाँ खर्च गरे पनि संरचना काम नलाग्ने भएकाले अहिले नयाँ संरचना बनाउनुपर्ने भएको उनको भनाइ छ । प्रदेश सरकारबाट आएको १० लाखबाट मुहानमा इन्टेक निर्माण गर्न लागिए पनि वर्षाले प्रभावित बनेको उनको भनाइ छ । ‘अहिले इन्टेक र ट्यांकी निर्माण गर्न लागिरहेका थियौं, पानी परेर समस्या भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म ४ किमि पाइप गाडिएको छ ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका प्रमुख हुपेन्द्रराज जोशीले अन्तिम चरणमा पाइप खोलाले बगाएपछि योजना अलपत्र परेको दाबी गरे । ‘गत वर्ष अन्तिममा काम गर्ने भनेर आएपछि हामीले रोक्यौं,’ उनले भने, ‘यो वर्ष इन्टेक बनाउने काम भइरहेको छ, कति बन्यो प्राविधिकलाई थाहा होला ।’


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया