कपिलवस्तुमा पनि ‘नाइरोबी फ्लाई’को जोखिम, सचेत रहन आग्रह

ईं–साझाकुरा, कपिलवस्तु । झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढेका समाचार आइरहेका बेला यता कपिलवस्तुमा पनि यसको असर देखिएको भन्दै स्वास्थ्य कार्यालय कपिलवस्तुले सचेत रहने आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक सुचना जारी गर्दै कपिलवस्तुमा पनि नाइरोबी फ्लाईको कारण छालामा फोका उठ्ने तथा छाला रातो हुने समस्या देखिएको जनाएको छ । यो किराले नटोके पनि यसको शरीरमा हुने झुसमा हुने रसायनले गर्दा छाला पोल्ने, रातो हुने र फोका उठ्ने हुन्छ । स्वास्थ्य कार्यालयले यस्तो किरा कतै देखिएमा नछुन आग्रह गरेको छ भने रातिमा सुत्ने बेलामा झुल लगाएर मात्र सुत्न आग्रह गरेको छ ।

नेपालको पुर्वी तराईका जिल्लामा यतिबेला नाइरोबीको प्रकोप फैलिरहेको छ । जसका कारण अस्पतालहरुमा बिरामीको संख्यामा समेत बृद्धी भएको छ । यता कपिलवस्तुमा अस्पतालमा यसका संक्रमित बिरामी आझै पुष्टि नभएको तर शिवराज नगरपालिका भित्रका केही व्यक्तिमा सोहीसँग मिल्दो लक्ष्यण देखिएकाले सचेत रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय प्रमूख डा. हेमराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस किराको छुवाइबाट मानिसको ज्यान नजाने तर शरीरको बाहिरी छालमा आगोले पोलेको जस्तो फोक्का देखा पर्ने हुदा सकभर यस्ता किराबाट बच्न आग्रह गरिएको बताउनुभयो ।

कसरी जोगिने ?

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।

उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा. पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनी बताउनुभयो ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

प्रतिक्रिया

खबर सबै