सुरु भयाे बाणगंगासहित ५ पालिकामा हैजा राेग बिरुद्व खाेप अभियान

कपिलवस्तु । कपिलवस्तुका पाँच पालिकाहरुमा हैजा बिरुद्धको खोप अभियान संचालन भएको छ । आज सोमबार देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन भएको हो ।                                                                                                  जिल्लाका बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका र मायादेवी र शुद्धोधन गाउँपालिकामा अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज, महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिकामा अभियान सम्पन्न भएको थियो । पहिलो अभियानमा ९० प्रतिशत बढीलाई हैजाविरुद्ध ओरल कलेरा भ्यानसिन दिइने स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले जानकारी दिए । कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदिप पौडेलले खोप सेवन गरि अभियानको शुभारम्भ गरिएको उनले बताए । खोप एक वर्ष माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए । अभियानमा साढे ३ लाखलाई खोप खुवाउने लक्ष्य रहेको छ । खोप लिएको १४ दिन पछि दोश्रो डोजको खोप लगाईने छ । पहिलो र दोस्रो चरणको खोप सेवन गरेपछि पाँच वर्षसम्म हैजा तथा झाडापखाला लाग्नबाट बच्न सकिने उनले बताए । पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवकका रुपमा खटिएका छन् । यता बाणगंगामा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी थारुसहित सम्पूर्ण जनप्रतिनिधिले हैजा बिरुद्धको खोप सेवन गरि ११ वटै वडामा अभियानको सुरुवात गरिएको छ । बाणगंगामा विभिन्न ८४ वटा केन्द्रहरु तोकेर खोप अभियानलाई तीब्रता दिईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । बाणगंगामा ९१ हजार जनालाई खोप खुवाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
यस्तै यता कपिवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा पनि हैजा विरुद्धको औषधी सेवन कार्यक्रम पहिलो चरणमा विद्यालयबाट सुरु गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले जानकारी दिनुभयो । आज पहिलो दिन मोतिपुर स्वास्थ्य चौकि क्षेत्र अन्र्तगत चारवटा विद्यालयहरुमा औषधी खुवाइएको पनि घिमिरेले जानकारी दिनुभयो ।
बाणगंगा मावि लौगाई, भुपुसैनिक स्कूल, चिल्ड्रेन प्याराडाइज र कपिलवस्तु विद्या मन्दिरका २ हजार ३ सय ५० विद्यार्थीले औषधी सेवन गरेका छन् । भोली पनि विद्यालय केन्द्रित कार्यक्रम रहने जनाइएको छ ।
यस्तै उता बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा पनि शुद्धोधन मावि जिनुवाबाट आज हैजा बिरुद्धको औषधी सेवन कार्यक्रम सुरु गरिएको छ । भलवाड स्वास्थ्य चौकीको आयोजनामा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले औषधी सेवन गरी कार्यक्रमको सुरुवात गर्नुभयो । यस्तै विद्यलयका विद्यार्थीहरुसहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतले पनि औषधि सेवन गरेका छन्।
यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्ने र त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ । सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादित सो खोप प्रति व्यक्ति ढेड एमएलका दरले खुवाइने छ । एक वर्ष मुनी सिकिस्त बिरामी, र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेका छन् । जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए । उनले यो कुरालाई सबैले र विशेषतः नव निर्वाचित जन प्रतिनिधिहरुले मनन गरी कार्ययोजना बनाउनु पर्ने उनले बताए । एक वर्ष पलिहे कृष्णनगरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो । त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो । अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदै छ ।

प्रतिक्रिया

खबर सबै